जनयुद्धले निम्ताएको विसंगतिः गाउँका जमिन बाँझै, सहरमा छैन खाली ठाउँ !

अहिले भनिन्छ, ‘गाउँ रित्तियो, राजधानीमा पाइला टेक्ने ठाउँ भएन ।’ गाउँका खेतवारी बाँझै रहँदा काठमाडौं उपत्यकासहित जिल्लाका सदरमुकामहरुमा खाली जमिन भेटिनै मुस्किल छ । ०५० सालअघि उपत्यकाभित्र खेतीयोग्य जमिन प्रशस्तै थियो । जताततै खेतको फाँट वा बारीको पाँटो थियो । त्यतिबेला आनाको दश हजारदेखि पचास हजारसम्ममा जग्गा किन्नुस् भन्दा समेत कोही किन्दैन्थ्यो । मानिसहरु भन्थे, ‘यहाँ जग्गा किनेर के गर्नु ?’ । ०५० सालमा उपत्यकाभित्रैका खेतबारीमा धान, मकै, कोदोलगायत खाद्यान्न फलिरहेको देखिन्थ्यो । सो समयमा जग्गा प्लाटिङ वा खण्डीकरण हुदैंन्थ्यो । बाहिरी जिल्लाबाट राजधानीमा कमाउन आएकाहरु पनि आफ्नो गाउँघर आउजाउ गरिरहन्थ्यो । यहाँ कमाएको पैसा गाउँ लग्थे । अनि गाउँमा घर बनाउनेदेखि गोरु, भैंसी वा खेतबारी किन्ने, छोराछोरीको बिहे गर्नेजस्ता काम गर्थे । त्यतिबेला सबैलाई आफ्नै गाउँघर प्यारो थियो । कमाउनेको लागि सहर आउँथे तर गाउँघर गइरहन्थे ।

आफ्नो जन्मथलो छोड्नुहन्न, धर्म, संस्कृति बिर्सनुहुन्न, बाउबाजेको सम्पत्ति बेच्नुहुन्न वा खेतबारी बाँझो राख्नुहुन्न भन्ने त्यतिबेला मान्यता थियो । त्यतिखेर धेरै जिल्लामा बत्ती, सडक, विद्यालय, अस्पताल थिएन । तैपनि मानिसहरु आफ्नो गाउँ छोड्न तयार थिएनन् । बरु उनीहरु टुक्री बत्ती बालेर बस्थे । यातायात सुविधा नभएपनि डोकोमा बिरामी बोकेर सहरमा उपचारका लागि ल्याउन्थे । गाउँमा सेवासुविधा केही नभएपनि त्यतिबेला मानिसहरुलाई आफ्रनै जन्मथलो प्यारो थियो । आफ्नो जन्मथलो छोड्नुहुन्न भन्ने मानिसहरुको सोचाई थियो । गाउँमा मकै, कोदोको ढिलो खाएर भएपनि मानिसहरुले जीविकोपार्जन गर्थे । कसैलाई दुःखसुख परेमा गाउँभरका मानिसहरु एकजुट हुन्थे । कसैको घरमा बिहे भएमा गाउँभर हल्ला चल्थ्यो । गाउँघरका मानिसहरु बिहेमा सामेल हुन्थे र रमाउँन्थे । त्यस्तै, कसैको घरमा कोही बितेमा गाउँघर शोक हुन्थे । त्यतिबेला मानिसहरु एकअर्काको दुःख र सुखमा गाभिन्थे । कसैलाई पनि धनसम्पत्तिको लोभ थिएन ।

खुशी नै सबैभन्दा ठूलो थियो । गाउँमा जे उत्पादन हुन्थ्यो, त्यँही खाएर मानिसहरु बाँचिरहेका थिए । अहिलेजस्तो मोबाइल कसैको पनि हातमा थिएन र कसैलाई आवश्यक पनि थिएन । अहिले पनि बाटोमा कुकुरहरु यत्तिकै भेटिन्छन् । तर, ती कुकुरहरु आफ्नो टोल वा बसिरहेको ठाउँबाहेक अन्य ठाउँ जादैंनन् । कुकुरहरु पनि नयाँ मान्छे वा कुकुर देख्नासाथ भुक्न थाल्छन् । एउटा कुकुरलाई समेत आफु बसेको वा जन्मेको ठाउँ यति प्यारो हुन्छ भने हामी त मानव हौं । ०५२ फागुल्न १ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध शुरु गरे । जनयुद्धका क्रममा माओवादीहरु गाउँ पसे । माओवादीका कार्यकर्ताहरुले गाउँमा कब्जा जमाए । त्यसपछि चन्दा उठाउन थाले । चन्दा नदिनेलाई कि त माओवादी लाग्न बाध्य बनाए त कि मारिदिए । यता, सरकारी कर्मचारीहरुलाई पनि यस्तै गरियो ।

चन्दा नदिए वा माओवादीमा नलागे मार्ने धम्की दिइन्थो । माओवादीको आंतक बढ्दै गएपछि गाउँमा मानिसहरु त्रसित हुन थाले । गाउँमा बस्ने स्थिति रहेन । गाउँमा माओवादी आंतकसँगै सरकारको समेत दबदबाब चल्यो । एकातिर माओवादी ज्यान मार्ने धम्की दिँदै चन्दा उठाउने अनि चन्दा दिएको भन्दै तत्कालिन सरकारबाट खटाइएको सुरक्षाकर्मीले कारबाही गर्ने । माओवादी र सरकारबाट खटाइएको सुरक्षाकर्मीबाट थुप्रै सर्वसाधारणले ज्यान गुमाए । राज्यको चौथो अंग मानिने सञ्चारकर्मीलाई समेत माओवादी वा सरकार पक्षमा समाचार लेखेको भन्दै मारियो । माओवादी र सरकारबीचको लडाईमा जनता पिसिए । त्यो पनि विशेषगरी गाउँका सर्वसाधारण । अनि सबैतिरबाट दुःख दिने काम हुन थालेपछि गाउँका जनताले विकल्प खोजे । गाउँको विकल्प थियो, जिल्लाको सदरमुकाम या राजधानी । गाउँमा भएका आफ्ना घरजग्गा त्यत्तिकै छोडेर मानिसहरु जिल्लाको सदरमुकाम वा राजधानी बस्न आइपुगे । गाउँ फर्किने बाटो नभएपछि पैसा भएकाहरुले उपत्यका वा सदरमुकाममै घडेरी किने । माओवादी र सुरक्षाकर्मीले नलखेटेको भए त्यो पैसाले मानिसहरुले आफ्रनै गाउँमै घडेरी किन्थे ।

तर, गाउँमा बस्ने स्थिति नरहेपछि मानिसहरुले अन्य जिल्लामा गएर घडेरी किने । त्यो पनि उपत्यकासहित जिल्लाको सदरमुकाममा । यसरी गाउँको जमिन बाँझै रहिरहँदा उपत्यका र सदरमुकाममा जग्गाको मूल्य हवात्तै बढ्यो । सोही बेलामा दलालीहरुको पनि उत्पत्ति हुन पुग्यो । तिनीहरुले जग्गा खण्डीकरण शुरु गरे । अनि रोपनीको पचास हजारमा बिक्री नभएको जग्गा आनाकै लाखौंमा खरिदबिक्री भयो ।
यसले महंगोमा जग्गा किन्ने चुलुम्मै डुबे त अर्कोतिर उपत्यकासहित देशभर खेतीयोग्य जमिन मासिँदै गयो । यता, दलालीहरु भने मोटाउँदै गए । यति मात्र होइन दलालीहरुले उपत्यकाभित्र वा सदरमुकामको डाँडाकाँडामा समेत डोजर चलाए । उता, यहाँका स्थानीय बासिन्दाहरुले पनि आनाको पाँच हजार नआउने जमिनको लाख आउने भएपछि धमाधम जग्गा बेचे । जग्गा बेच्नेहरुले त आएको पैसाले जाँडरक्सी खाएर मोजमस्ती गरे । जाँडकै कारण कतिपयले ज्यानै समेत गुमाए । तर, दलालीहरुले भने भरपूर्ण फाइदा उठाए । दलालीहरुले रोपनीका रोपनी जग्गा किने । अनि खण्डीकरण शुरु गरे । एक रोपनी जग्गामा १६ आना हुन्छ । रोपनीको लाखमा किनेर खण्डीकरण गरी दलालीहरुले आनाकै १५ लाखदेखि ३० लाखसम्ममा बेच्न थाले ।

कृषि विकास बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक सरकारी स्वामित्वको हो । यी बैंकहरु पहिल्यै स्थापना भएका थिए । सरकारी बैंकमा बचत गर्दा थोरै ब्याज पाइन्थ्यो । तर, ०४८ सालपछि प्राइभेट बैंक, सहकारी, लघुवित्त, फाइनान्स हवात्तै खुले । यीनीहरुले बचतको महंगो ब्याज दिने प्रलोभन देखाएर सर्वसाधारणबाट पैसा उठाए । पैसा तान्ने ब्यज बढी दिनेको होडबाजी नै चल्यो । यतिमात्र होइन बुढाबुढीलाई लौरो दिनेदेखि जन्मदिनमा केक काटिदिने र खाता खोल्नासाथ निःशुल्क बीमा भइहाल्नेजस्ता कार्यक्रम ल्याए । प्रलोभनमा परेपछि सर्वसाधारणले आफुसँग भएको पैसा प्राइभेट बैंक, सहकारी, लघुवित्त, फाइनान्समा जम्मा गरे । फेरि यी संस्थाहरुले सबै कर्जा घरजग्गा, गाडी र सेयरमा गरे । बैंकले सय रुपैयाँ कित्तामा निष्काशन गरेको सेयर दलालीहरुले ३५ सय पुर्याए ।

छिमेकी देशहरुमा एक लाखमा पाइने गाडी यहाँ ल्याएर ३०/३५ लाखमा बेचियो । व्यक्ति होस् या वित्तिय संस्थाले आफुसँग भएको पैसा यीनै तीन क्षेत्रमा लगानी गरे । बजारमा केही वर्ष भइसक्यो घरजग्गा, गाडी र सेयरमा मन्दी आएको । यता, सटर, कोठा र फ्ल्याटहरु पनि खाली हुँदै गएका छन् । महंगोमा घरजग्गा, गाडी र सेयर किन्नेहरु चुलुम्मै डुबेका छन् । उनीहरु मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् । सहकारीले पनि करोडौं बचतकर्ताको खर्बौ रकम डुबाइदिएको छ । प्राइभेट बैंकहरुमा बचतकर्ताहरुको रकम असुरक्षित बन्दै गएको छ । बैंककै कर्मचारीहरुले बचतकर्ताको रकम हिनामिना वा चोरी गरेको घटना बाहिरिएका छन् । २०८० साउन ३० गतेको मन्त्रिपरिषद् बैंकले जग्गाको कित्ताकाट फुकुवा गर्यो ।

सेयरमा लगाइएको १२ करोडको सीमा पनि हटाइयो । गाडीलाई ५० प्रतिशत कर्जा दिने गरिएकोमा ८० प्रतिशत पुर्याइएको छ । घरजग्गा, गाडी र सेयरमा खुकुलो नीति बनाएसँगै अहिले यी क्षेत्रमा लगानी गर्ने कोही छैन । माओवादी शान्ति वार्तामा आएको पनि १८ वर्ष भइसक्यो ।
माओवादी शान्ति वार्तामा आएसँगै माओवादीकै नेता तथा कार्यकर्ताहरुले घरजग्गा, गाडी र सेयरमा लगानी गर्न शुरु गरेका हुन् । माओवादीले विगतमा लखेटेका जनता पनि घर फर्किएनन् । यता, नेता, कार्यकर्ताहरु पनि गाउँ फर्किएनन् । यसले गाउँ झन्झन् रित्तिँदै गयो । गाउँको घर भत्किँदै गयो त जग्गा झनै बाँझो रह्यो । यहाँ पैसा हुने अर्थात् नेता, सरकारी कर्मचारी, व्यापारीका छोराछोरीहरु पढ्ने नाममा अमेरिका, अस्ट्रेलियालगायत विकसित मुलुक पलायन भए । उनीहरुले पढ्ने नाममा शुरुमै तिसौं लाख लगे । गरिबका छोराछोरी कमाउन खाडी पुगे । कोही विदेश पलायन हुने त कोही शहरमै बस्ने भएपछि गाउँ रित्तियो अनि उपत्यका भरियो ।

अहिले पनि मानिसहरु आफ्नो जन्मथलो फर्किएका छन् । यहाँ एउटै कोठाको पाँच हजारदेखि २० हजार तिरेर बसिरहेका छन् । एउटा सटरको ३० हजारदेखि १८ लाख तिरेर व्यापारव्यवसाय गरिरहेका छन् । एक फ्ल्याटको ३० हजारदेखि दुई लाखसम्म तिर्छन् । यहाँ खाली सटर २० लाखदेखि ५० लाखमा किनबेच हुने गरेको छ । सहर महँगिदै गएपनि मानिसहरु यँही बसेका छन् । कोही पनि आफ्नो पुख्र्यौली घर फर्किएका छैनन् । माओवादीका नेताहरुको त जीवन परिवर्तन भयो तर गाउँमा जुन परिवर्तन गछौं भनेर माओवादीले जनयुद्ध शुरु गरेको थियो । त्यस्तो केही भएन । अहिले गाउँ झनै अविकसित बनेको छ ।

किनकि गाउँका जनता सबै सहरमा छन् । गाउँका खेतबारी बाँझो छ । तर, हामी विदेशबाट खाद्यान्न आयात गरेर खान बाध्य गछौं । अनि जनयुद्धले देश र जनतालाई के फाइदा भयो ? १७ हजार नेपालीले आफ्नो ज्यान गुमाएको गाउँ रित्तिन हो र ? हिजो जनयुद्ध शुरु गर्दा माओवादी कमाण्डर प्रचण्ड नै थिए र अहिले मुलुकको प्रधानमन्त्री पनि उनै छन् । तर, जनयुद्धले के चाँहे परिवर्तन ल्यायो, प्रधानमन्त्रीज्यु ?
रुषा थापा/भक्तपुर

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्