काठमाडौँ – हेलम्बु गाउँपालिकाले प्रत्येक नागरिकको पाँच लाखसम्मको स्वास्थ्योपचार निशुल्क गराउने भएको छ ।आर्थिक वर्ष ०८०/८१ का लागि गाउँसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा हेलम्बुका प्रत्येक नागरिकले पाँच लाखसम्मको स्वास्थ्योपचार पाउने उल्लेख गरेको छ। त्यसका लागि पालिकावासीबाट वार्षिक रकम संकलन गर्ने र सरकारको तर्फबाट पनि विनियोजन गरेर कोष स्थापना गरिने बताइएको छ।
यसअघि पनि हेलम्बुले दीर्घरोगीलाई निःशुल्क औषधि प्रदान गरेको थियो । यस्तै गाउँपालिकाभित्र रहेका सरकारी कार्यालयमा प्लास्टिकका बोतल र झोला प्रयोग गर्न प्रतिबन्ध लगाएको छ। गाउँपालिका, सबै शाखा, स्वास्थ्य संस्था र सरकारी विद्यालयले उक्त नियम पालना गर्नुपर्नेछ। प्लास्टिकका बोतल र झोलाको सट्टा तामा र पित्तलका अम्खोरा, फिल्टर र गिलास प्रयोग गर्ने नीति लिएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए।
प्लस टु पास गरेर हेलम्बुस्थित मेलम्ची भ्याली क्याम्पस ग्याल्थुममा अध्ययन गर्ने विद्यार्थीले गाउँपालिकाबाट इन्टर्नसिप पाउने घोषणा गरिएको छ । इन्टर्नसिपका लागि विद्यार्थीले पालिकामा रहेका प्राथमिक विद्यालयमा शिक्षण गर्नेछन् । ५२ करोड बजेट घोषणा गरेको हेलम्बुले सबै विद्यालयमा किचेन गार्डेन अवधारणा लागू गर्ने नीति लिएको छ।