आज यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ। बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र गण्डकी प्रदेशका पहाडी भू—भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

पछिल्लो २४ घन्टामा कहाँ कति पानी पर्‍यो?
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती, मधेस, कोशी लगायत प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।

सर्लाहीको मनुस्मारामा पछिल्लो एक घन्टामा २१.२ मिलिमिटर वर्षा भएको छ। कास्कीको लामा पाटनमा ९.२ मिलिमिटर वर्षा भएको छ। पछिल्लो २४ घन्टामा गोरखाको आरूघाटमा ५२ मिलिमिटर वर्षा भएको छ। सिन्धुपाल्चोकको घुमथाङमा ४८.८, बाहुनेपाटीमा ४७.६, दुबाचौरमा ४७.४ तार्केघ्याङमा ४८ मिलमिटर पानी परेको छ। काठमाडौंको धापमा २७.६ मिलमिटर पानी परेको छ। रोल्पाको लिबाङमा ४२.२, दाङको घोराहीमा ४०.४ मिलमिटर पानी परेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्