अमेरिकामा अन्तर्राष्ट्रिय संवाद : मन्त्री यादवले दिए नेपालले गरेका प्रयास र योजनाको जानकारी

वीरगञ्ज – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले नेपालमा नसर्ने रोग र मानसिक स्वास्थ्यका क्षेत्रमा भएको कार्यप्रगतीका बारेमा जानकारी गराएका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) र विश्व बैंकको सहकार्यमा अमेरिकामा आयोजित ‘नसर्ने रोग र मानसिक स्वास्थ्यका लागि दिगो वित्तीय साधन’ विषयक अन्तर्राष्ट्रिय संवादका क्रममा मन्त्री यादवले नेपालले मानसिक स्वास्थ्य र नसर्ने रोगका क्षेत्रमा गरेका कामको बारेमा अवगत गराएका हुन् । मन्त्री यादवले नेपालको नसर्ने रोगहरू र मानसिक स्वास्थ्य क्षेत्रमा हालसम्म भएको प्रगति तथा भविष्यका योजनाहरूका बारेमा प्रस्तुती दिएका थिए । उनले नेपालको स्वास्थ्य क्षेत्रलाई अझ प्रभावकारी बनाउन तथा आवश्यक वित्तीय सहायता सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग सहकार्यको आवश्यकता औँल्याएका छन् ।

कार्यक्रममा मन्त्री यादवले भने, “नेपालले राष्ट्रिय स्वास्थ्य योजनाहरूमा सुधार ल्याउन तथा स्वास्थ्य सेवाको पहुँचमा वृद्धि गर्न महत्वपूर्ण कदमहरू चाल्दै आएको छ । यद्यपि, यस क्षेत्रमा अझ धेरै सुधारको आवश्यकता रहेको छ ।” उनले नेपाललाई आवश्यक पर्ने वित्तीय सहयोग तथा अन्तर्राष्ट्रिय साझेदारीको लागि पनि सहयोगको अपिल गरेका छन् । नेपालले नसर्ने रोगहरू जस्तै मुटु रोग, मधुमेह, क्यान्सर लगायतका समस्याहरूलाई न्यूनीकरण गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको मन्त्री यादवले बताए । मन्त्री यादवकाअनुसार मानसिक स्वास्थ्यका क्षेत्रमा पनि समुदायस्तरमा सेवाहरू विस्तार गर्दै जनचेतना कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।

मन्त्री यादवले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गर्दै भने, “नेपालको स्वास्थ्य प्रणालीलाई बलियो बनाउन, सबै नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन र दीर्घकालीन स्वास्थ्य योजनाहरू कार्यान्वयन गर्न हाम्रो प्रयासलाई बल पु¥याउन अन्तर्राष्ट्रिय सहयोग आवश्यक छ ।” कार्यक्रममा सहभागी विभिन्न देशका प्रतिनिधिहरूले आफ्ना अनुभवहरू साटासाट गरेका थिए र दीर्घकालीन वित्तीय स्थायित्वका उपायहरूको खोजी गरेका थिए । नेपालले पनि आफ्ना अनुभवहरू प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय सहयोगबाट लाभ उठाउने प्रयास गरेको छ । यस प्रकारका अन्तर्राष्ट्रिय संवादहरूले नसर्ने रोग र मानसिक स्वास्थ्य क्षेत्रमा दीर्घकालीन समाधानहरू खोज्न र प्रभावकारी वित्तीय योजना निर्माण गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्