पालिकाहरूले स्थानीय उत्पादनको बजारीकरणमुखी बजेट ल्याउनुपर्छ : तरुण नेता गौतम

काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय सदस्य भीमकुमार गौतमले स्थानीय पालिकाहरूले बजेट ल्याउने तयारी गरिरहँदा स्थानीय उत्पादनको बजारीकरण र प्रवर्द्धन हुने खालको बजेट ल्याउन सुझाव दिएका छन्। ओखलढुंगाका विभिन्न पालिकाका प्रतिनिधिहरूसँगको भेटमा गौतमले उक्त सुझाव दिएका हुन्।

स्थानीय उत्पादनको बजारीकरण गर्न सके पालिकाभित्रका जनताको जनजीवन सुध्रिने र पालिकाले सहजै समृद्धि हासिल गर्न सक्ने उनको भनाइ छ।

‘स्थानीय उत्पादनको बजारीकरण हुँदा कृषकले राम्रो आम्दानी गर्छन्। उनीहरूले पालिकालाई कर तिर्छ। पालिकाका विभिन्न सेवा सुविधा उपभोग गर्न सक्ने हैसियत निर्माण हुन्छ। यसले एक पक्षलाईमात्र नभएर सबैलाई फाइँदा पुर्‍याउँछ,’ उनले भने।

स्थानीय पालिकाले ठूला बाटाघाटाको चिन्ता गर्नुभन्दा जनजीविकासँग जोडिएका विषयमा गम्भीर हुन सुझाएका छन्। ‘कृषकका लागि कुलो, आधुनिक प्रकृतिका औजारमा स्थानीय पालिकाले जनतालाई सहुलियत दिनुपर्छ। ठूला योजना त प्रदेश र केन्द्र सरकारले गरिहाल्छन्,’ उनले भने।

त्यसरी उत्पादन भएका बस्तुको बजारीकरणका लागि अन्य पालिका र निकायसँग समन्वय गर्नुपर्ने उनको भनाइ छ। ‘कतिपय कच्चा पदार्थको रूपमा बजारीकरण गर्नुपर्ने र कतिपय तयारी बस्तुको बजारीकरण गर्नुपर्ने हुन्छ। यी सबै क्षेत्रको अध्ययन गरेर पालिकाहरूले रणनीति अवलम्बन गर्नुपर्छ,’ उनले भने । त्यसका अलावा स्थानीय तहमा भएका पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न सकेमा पनि राम्रो आम्दानी गर्न सकिने उनले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्