सक्रिय बन्दै मनसुन, कोशी र गण्डकी प्रदेशमा भारी वर्षा

काठमाडौँ – हाल मनसुनी प्रणालीको प्रभाव कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जसको प्रभावले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणयतादेखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । गण्डकी प्रदेशका केही, बागमती, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भ(भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही, कोशी र मधेस प्रदेशको थोरै तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

भोलि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पनि सम्भावना रहेकोले यस क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्