स्वास्थ्यमन्त्री यादवले गरे नरदेवी आयुर्वेद चिकित्सालयको आकस्मिक अनुगमन

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले आइतबार काठमाडौँस्थित नरदेवी आयुर्वेद चिकित्सालयको आकस्मिक अनुगमन गर्नुभयो । मन्त्री यादवले विभिन्न शाखाहरू, फार्मेसी, ओपिडी, शल्यक्रिया कक्ष लगायतको निरीक्षण गर्दै त्यहाँ उपचाररत बिरामी, कुरुवा तथा कर्मचारीहरूसँग कुराकानी गर्नुभयो ।

अनुगमनको क्रममा, अस्पतालका कर्मचारीहरूले जनशक्ति अभावका कारण अपेक्षित सेवा प्रवाह गर्न नसकिएको गुनासो राखे । अस्पतालका कार्यकारी निर्देशक डा. रामदेव यादवले दरबन्दी नथपिँदा सेवाको गुणस्तर कायम राख्न चुनौती भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘चिकित्सालयसँग सीमित स्रोत छ । बजेटको पनि अभावका कारण सबै सेवा हामीले सोचे अनुसार दिन सकेका छैनौँ । चिकित्सकदेखि नर्सिङ स्टाफसम्मको अभाव छ । विद्युत् जाँदा जेनरेटर नहुँदा सेवा रोक्नुपर्ने अवस्था छ ।’

त्यस्तै, डा. यादवले आवश्यक उपकरणको समेत अभाव रहेको बताउनुभयो । छलफल पश्चात् स्वास्थ्य मन्त्री यादवले नेपालकै प्रमुख आयुर्वेदिक चिकित्सालयका रूपमा स्थापित नरदेवीलाई सबल बनाउन आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘अस्पतालको सेवाको गुणस्तर सुधार गर्न के चाहिएको छ, मलाई सूची बनाएर दिनुहोस् । सम्भव भएसम्म सबै प्रकारको जनशक्ति र सामग्रीको व्यवस्थापन म गर्छु,’ मन्त्री यादवले भन्नुभयो । त्यस्तै, मन्त्री यादवले अस्पतालमा रहेको एमआरआई मेसिनलाई छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन निर्देशन दिनुभयो । ‘कानुनी अड्चन फुकाएर छिटोभन्दा छिटो एमआरआई मेसिन सञ्चालनमा ल्याउनुहोस् । बाकी रहेको भुक्तानी मन्त्रालयले गर्छ,’ उहाँले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्