काठमाडौं – भारतमा १८ औं लोक सभा निर्वाचनको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार भाजपा नेतृत्वको सत्ता गठबन्धन (एनडीए)ले २९३ सिट जितेको छ । यसैगरी कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन (इण्डिया) गठबन्धनले २३१ सिट जितेको छ ।
भाजपा एक्लैले बहुमत हासिल गर्न भने असफल भएको छ । भाजपाले मात्रै जितेको सिट संख्या २४० छ । कांग्रेस एक्लैले ९९ र समाजवादी पार्टी (सपा)ले ३७ सिट जितेका छन् । त्रिणमुल कांग्रेस (टीएमसी)ले २९ सिट जितेको छ । बहुमतका लागि २७२ सिट जित्नुपर्ने भए पनि कुनै पनि दलले एकल बहुमत हासिल गर्न सकेनन् ।
यद्यपि भाजपा सबैभन्दा ठूलो दल बनेकाले उसैको नेतृत्वमा गठबन्धन सरकार बन्ने छ । सरकारको नेतृत्व भने भाजपाका नेता नरेन्द्र मोदीले नै गर्ने छन् ।
मोदीले गरे नेहरुसँग बराबरी
मोदीले सन् २०१४ देखि २०१९सम्म र २०१९ देखि २०२४सम्म लगातार दुई कार्यकाल सरकारको नेतृत्व गरिसकेका छन् । अब उनी तेस्रो कार्यकालका लागि सरकारको नेतृत्वमा हुनेछन् ।
भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाले नरेन्द्र मोदी तेस्रोपटक प्रधानमन्त्री बन्ने बताएका हुन् । ‘सन् २०२४ मा जनताले नरेन्द्र मोदीलाई आशिर्वाद दिएका छन् । नरेन्द्र मोदी तेस्रोपटक प्रधानमन्त्री बन्दै हुनुहुन्छ,’ नड्डाले भनेका छन् । मोदी भारतमा लगातार तीन कार्यकाल प्रधानमन्त्री बन्ने दोस्रो नेता हुन् । यसअघि यस्तो रेकर्ड जवाहर लाल नेहरुको नाममा छ ।
मोदीले भने-नयाँ संकल्पका साथ अघि बढ्ने छौं भाजपा नेता एवम् हालका प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रोपटक पनि बहुमत दिएको भन्दै जनतासँग आभार प्रकट गरेका छन् ।
सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘देशका जनता जनार्दनले एनडीए माथि लगातार तेस्रो बार आफ्नो विश्वास व्यक्त गरेका छन् । भारतको इतिहासमा यो अभूतपूर्व क्षण हो । …म देशवासीलाई यो विश्वास दिलाउँछु कि उनीहरुको आकांक्षा पूरा गर्नका लागि नयाँ ऊर्जा, नयाँ उमंग र नयाँ संकल्पका साथ अघि बढ्ने छौं ।’
मोदीले वाराणसीबाट चुनाव जितिसकेका छन् ।