धनगढीको तापक्रम ४३.३ डिग्री, १२ वर्षयताकै उच्च

काठमाडौँ –  पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको तराई–मधेश क्षेत्र गर्मीको चपेटामा परेको छ । भैरहवादेखि पश्चिम तराईमा लगातार तातो हावा चलिरहेको छ । तापक्रम पनि पश्चिम तराईमा नै उच्च छ । बुधबार देशभरमै सबैभन्दा धेरै धनगढीमा ४३.३ डिग्री सेल्सियस (डिसे) तापक्रम मापन भएको छ, जुन धनगढीका लागि १२ वर्षयताकै उच्च तापक्रम हो । तर, पूर्वी र मध्यतराईमा तातो हावा नचले पनि गर्मी भने धेरै नै छ ।

बुधबार धनगढीमा ४३.३, नेपालगन्जमा ४२.८ र भैरहवामा ३९.७ डिसे अधिकतम तापक्रम मापन भएको छ । बुधबार नेपालगन्जमा मापन भएको अधिकतम तापक्रम त्यहाँका लागि यस वर्षकै धेरै हो । मंगलबार धनगढीमा ४२, नेपालगन्जमा ४१.७ र भैरहवामा ३६.८ डिसे तापक्रम थियो । यसअघि ६ जेठमा कैलाली टीकापुरको तापक्रम ४३ डिसे मापन भएको थियो । यही वर्ष ८ वैशाखमा भैरहवामा अधिकतम तापक्रम ४३.६ डिसे मापन भएको थियो ।

मौसम पूर्वानुमान महाशाखाले यसपटक गर्मीयाममा तातो हावासम्बन्धी छैटौँ बुलेटिन जारी गर्दै १८ जेठ (शुक्रबार)सम्म तातो हावाको लहर चल्ने चेतावनी दिएको छ । वर्षा नहुँदा पश्चिममा तराई मात्र होइन, पहाडी र उपत्यकाको तापक्रम पनि उच्च छ । बुधबार दिपायलको अधिकतम तापक्रम ३९.२, सुर्खेत वीरेन्द्रनगरको ३९.७ र घोराहीको ३९.५ डिसे मापन भएको छ । गत वर्ष भने पूर्वी र मध्य तराईमा तातो हावाको लहर धेरै चलेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्