न्युरोडबासीको दोहोरो चरित्रः सवारीसाधन पार्किङ गरिँदा केही नहुने, फुटपाथ बनाउन खोज्दा सडकमा उत्रिने !

मुलुकभरका जनता काठमाडौं उपत्यकामा थुप्रिएका छन् । काठमाडौं, ललितपुर र भक्तपुर यी तीन जिल्लामा मानिसको चाप थेगिनसक्नु छ । पैसा हुने वा सक्ने फ्ल्याट लिएर बसेका छन् भने नसक्नेहरु कोठामा सीमित छन् । उपत्यकाबासी भने यहाँको घर बेचेर विदेशी पलायन हुने वा यहाँको सम्पत्ति बेचेर अमेरिका, अस्ट्रेलिया लैजाने क्रम बढिरहेको छ ।
देशभरका जनता शिक्षा, स्वास्थ्य, रोजगारीलगायत विभिन्न सेवासुविधाको खोजीमा उपत्यका आउने भएकोले यहाँ घरजग्गाको मूल्य आकाशिएको हो । कोठा, सटर र फ्ल्याटको भाडा पनि हवात्तै बढेको हो । बाहिरी जिल्ला वा विदेशबाट आएका पर्यटकहरु प्रायजसो न्युरोड, असन, विशालबजार, ठमेल, इन्द्रचोक, भोटाहिटीलगायत स्थान पुग्छन् ।
त्यहाँ फुटपाथ छैन । बीच सडकबाट हिँड्नुपर्ने बाध्यता छ । गाउँबाट आएका अधिंकाश मानिस अशिक्षित हुन्छन् । गाउँमा कहिल्यै सवारीसाधन नदेखेका उनीहरुलाई गाडीको ठक्करबाट ज्यानै समेत जान सक्छ भनेर समेत थाहा हुँदैन । अनि फुटपाथ नहुँदा बीच बाटोमा हिँड्दा कतिपयले ज्यानै गुमाउँछन् ।
यहाँका घरधनीहरु एउटै सटरको मासिक १८ लाखसम्म भाडा असुल्छन् । अन्य ठाउँमा पाँच सय पर्ने सामान त्यहाँका व्यापारीहरु पाँच हजारमा बेच्छन् । उनीहरुले सामानमा समेत भाडा जोड्छन् । यता, १८ लाख भाडा असुल्ने घरधनी राज्यलाई कर तिर्दैनन् । वडा, नगरपालिकामा घरबहाल कर तिर्दैनन् । घरधनीहरु राज्यलाई ठग्छन् अनि व्यापारी आम सर्वसाधारण ।
त्यसैले, अब सर्वसाधारण जनता न्युरोड, असन, ठमेल, इन्द्रचोकलगायत ठाउँमा जानुहुन्न । यी ठाउँलाई सर्वसाधारण आफैंले बहिष्कार गर्नुपर्छ । फुटपाथ नै नभएको ठाउँमा ज्यानै जोखिममा राखेर जानुहुँदैन । यहाँ खाली सटर समेत ६० लाखसम्म बिक्री हुने गरेको छ । मुलुककै सबैभन्दा महँगो ठाउँ न्युरोड हो ।
सरकारले न्युरोडमा जग्गाको मूल्य आनाको ६६ लाख ५० हजार तोकेको छ । यद्यपि, यहाँ जग्गा आनाकै १३–१४ करोडमा किनबेच हुने गरेको छ । नामसारी गर्ने समयमा भने त्यँही साढे ६६ लाखको मात्र राजस्व तिरिन्छ । जनता र राज्यलाई ठगेर सुकिलामुकिला भएका छन्, यी ठाउँका मान्छेहरु ।
अहिले न्युरोडमा काठमाडौं महानगरपालिकाले फुटपाथ बनाउने तयारी गरेको छ । आम नागरिकको सुरक्षाका लागि महानगरले फुटपाथ बनाउन लागेको हो । न्युरोडमा फुटपाथ नहुँदा बीच बाटोबाट हिँड्दा कतिपय पैदलयात्रुको सवारीसाधनको ठक्करबाट ज्यान गएको पनि घटना छन् । फुटपाथ नहुँदा ज्यान गुमाएका ती मानिसहरुको जिम्मा कसले लिन्छ ?
के न्युरोडका स्थानीयले यसको जिम्मा लिन्छन् ? त्यहाँका घरधनीहरु आफ्नो फाइदाका लागि फुटपाथ बनाउन नदिने अनि सर्वसाधारणले ज्यान गुमाउनुपर्ने ! न्युरोडका घरधनी र व्यापारीहरुले आफ्नो स्वार्थका लागि जनता मारिरहेका छन् । त्यसैले, अब देशभरका जनताको आँखा खोलिनुपर्छ । न्युरोड, असन, इन्द्रचोक घुम्न वा सामान किनमेल गर्न जानुहुन्न ।
ज्यान गुमाउने वा ठगिने यस्तो ठाउँमा आम नागरिक जानुहुँदैन । कानूनमा सडकको दायाँबाया अनिवार्य फुटपाथ बनाउनुपर्ने व्यवस्था छ । तर, यहाँ आफ्नो फाइदाका लागि कानून नमान्ने अनि जनता ठग्ने वा उनीहरुलाई मार्ने काम भइरहेको छ । राज्यलाई कर पनि तिर्दैनन् । अब सर्वसाधारण आफैंले न्युरोडलाई बहिष्कार गर्नुपर्छ ।
फुटपाथ समेत बनाउन नदिने न्युरोडबासीलाई जनताले बहिष्कार गर्नैपर्छ । अनि मात्र उनीहरुमा चेत आउँछ । पजनताको ज्यान जोखिममा पारेर व्यापार व्यवसाय गरेर भव्य कमाउने अनि फुटपाथ बनाउन खोज्दा आन्दोलन गर्ने ! के हो उचित हो ? जब राज्य ऐन, कानून कार्यान्वयन गर्न खोज्छ, तब ठग्न वा लुट नपाइने त्रासमा मानिसहरु सडकमा उत्रिन्छन् ।
काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) ले न्युरोडमा फुटपाथ बनाउन लागेर जनताको ज्यान बचाउन खोजेको हो । देशभरका जनता बालेनले राम्रो काम गरेको बताउँछन् । विदेशीहरु समेत बालेनको तारिफ गर्छन् । बजारमा जताततै बालेनको हाईहाई छ । केही महिनाअघि काठमाडौं महानगरले न्युरोडमा पार्किङ हटायो ।
त्यसअघि जथाभावी पार्किङका कारण ट्राफिक जाम अस्तव्यस्त हुनुका साथै त्यहाँ आउजाउ गर्ने मानिसलाई समेत असहज हुँदै आइरहेको थियो । सीमित व्यापारी वा व्यक्तिले त्यहाँ पार्किङबापतको मोटो रकम असुल्दै आएका थिए । महानगरले पार्किङ हटाउँदा पनि विरोध चर्किएको थियो ।
यद्यपि, महानगर आफ्नो निर्णयमा अडिग रह्यो, पछि हटेन । अहिले पार्किङबापत मोटो रकम असुल्ने त्यहाँका केही सीमित व्यक्ति तथा व्यापारीहरुको ठगीधन्दा पनि अन्त्य भएको छ । अर्कोतर्फ, अहिले महानगर न्युरोडमा फुटपाथ बनाउन लागिरहेको छ । फुटपाथ बनेसँगै आफ्नो घरको केही जग्गा पनि जाने अनि सवारीसाधन पनि बाटोमा पार्किङ गर्न नपाइने भएपछि न्युरोडका घरधनीहरु सडकमा उत्रिएका हुन् ।
यस पटक पनि महानगर पछि हट्नुहुन्न । न्युरोडमा फुटपाथ बनाएरै छोड्नुपर्छ । यदि घरधनीहरुले जबरजस्ती गरेमा जनताले नै न्युरोडलाई बहिष्कार गर्नुपर्छ । न्युरोडमा एउटै कोठाको २० हजारसम्म तिरेर मानिसहरु बसेका छन् । एक फ्ल्याटको तीन लाख र एउटा सटरको १८ लाखसम्म तिरेका छन् । यहाँ सबै बाहिरी जिल्लाका मानिसहरुको बसोबास छ ।
आफन्त भेट्न आउँदा फुटपाथ नहुँदा बीच सडकबाट हिँड्दा सवारीसाधनको ठक्करबाट कतिपयले ज्यान गुमाउने गरेका छन् । घरधनीहरु फाइदा लिने अनि सर्वसाधारणले ज्यान गुमाउनुपर्ने ! कहिलेसम्म न्युरोडमा यो चलिरहनेछ ? त्यसैले, अब बाहिरी जिल्लाका मानिसहरुले यो क्षेत्रमा कोठा, सटर वा फ्ल्याट भाडामा लिनुहुन्न ।
यो ठाउँमा बस्नु भनेको ज्यान जोखिममा पार्नु हो । अब जनताको आँखा खुल्नुपर्छ । घरधनीको फाइदाका लागि आफ्नो ज्यानै जोखिममा पार्नुहुन्न । सरकार जनताको अभिभावक हो । जनताको सुरक्षा गर्नु सरकारको दायित्व पनि हो । अहिले उपत्यका बाहिरका धेरै जिल्लामा फुटपाथ बनेको पाइन्छ ।
फुटपाथ भएपछि बीच सडकबाट हिँड्नुपर्दैन । फुटपाथबाटै मानिसहरु हिँड्छन् । अभिभावक, शिक्षक, ट्राफिक वा राज्यका सम्बन्धित निकायहरु पनि फुटपाथबाटै हिँड्नुपर्ने भन्छन् । तर, न्युरोडका बासिन्दाहरु भने आफ्नो फाइदाका लागि फुटपाथ बनाउन दिइरहेका छैनन् । जनताको ज्यान नै किन नजाओस् तर उनीहरु फुटपाथ बनाउन दिन तयार छैन ।
उनीहरुको फाइदाको लागि सर्वसाधारण जनताले आफ्नो ज्यान गुमाउनुपर्ने ! न्युरोड र देशभरको माटो एउटै हो । तर, अहिले पनि कुनै जिल्लामा रोपनीको एक हजारमा जग्गा बिक्री हुँदैन । न्युरोडमा भने जग्गाको मूल्य आनाकै करोड छ । यो मूल्य कसले बढाइएको हो त ? देशभरका जनताले होइन र । यदि न्युरोडमा कोही जाँदै गएनन् भने त्यहाँको अवस्था के हुने छ ? फुटपाथ बनाउन नदिने ठाउँमा जनताहरु जानुहुन्न ।
राज्यले पनि उपत्यकामा मात्र विकास गरिदियो । न्युरोड, असन, इन्द्रचोकमा सानो खाल्टो पर्दा पनि पिच गरिहाल्ने तर दुर्गम वा अन्य जिल्लामा दशकसम्म पनि बाटो नपुर्याउने ! न्युरोडमा खाली ठाउँ छैन । केही गरी भूकम्प आएमा ठुलो जनधनको क्षति हुनेछ । त्यसकारण यस्तो ठाउँमा कोठा, फ्रल्याट लिएर बस्नुहुन्न ।
घुमफिर गर्न पनि यस्तो ठाउँ जानुहुन्न । अब जनता सचेत हुनुपर्छ । नागरिक र नागरिकको ज्यान सबैभन्दा ठुलो र महत्त्वपूर्ण हो । त्यसैले, अब महानगरपालिका झुक्नु हुँदैन । न्युरोडमा फुटपाथ बनाउनैपर्छ । नभए न्युरोडमा घुमफिर गर्नमा रोक लगाउनुपर्छ । न्युरोड जानमा प्रतिबन्ध लगाउनुपर्छ । अहिले बाटो काट्न जेब्रोक्रस छ । आकाशे पुल छ ।
यति गर्दा पनि दैनिक ११ जनाभन्दा बढीले सवारीसाधनको ठक्करबाट ज्यान गुमाउने गरेका छन् । न्युरोडका स्थानीयले फुटपाथ बनाउन नदिने हो भने महानगरपालिका, ट्राफिक महाशाखा र गृह मन्त्रालयले यो ठाउँमा सवारीसाधन सञ्चालनमा रोक लगाउनुपर्छ । अहिले न्युरोडका घरधनीहरुलाई सवारीसाधन पनि त्यहाँ चलाउनुपरेको छ अनि फुटपाथ बनाउन चाँहि नदिने ! यो कहिलेसम्म ?
अब महनगरपालिका आफ्नो निर्णयबाट पछि हट्नुपर्छ । न्युरोडमा फुटपाथ बनाएरै छोड्नुपर्छ । बालेनको पक्षमा देशभरका जनता छन् । त्यसैले, अब न्युरोडका स्थानीयले अति नै गरेमा देशभरका जनता बालेनको पक्षमा उभिनेछ । उनीहरु आफैं न्युरोड बहिष्कार गर्ने छन् । त्यसकारण न्युरोडबासीले पनि बेलैमै सोचौं ।
रुषा थापा
भक्तपुर

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्