काठमाडौँ – राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आइपिएल)को क्वालिफायरमा पुगेको छ। गएराति रोयल च्यालेञ्जर्स बैंगलुरूलाई पराजित गर्दै राजस्थानले क्वालिफारयमा स्थान पक्का गरेको हो। बैंगलुरूले दिएको १७३ रनको लक्ष्य राजस्थानले ६ बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टाएको हो।
राजस्थानका लागि ययश्वी जैसवालले सर्वाधिक ४५ रन बनाए। उनले ३० बलमा ८ चौका प्रहार गरे। त्यस्तै रियान परागले २६ बलमा २ चौका र २ छक्का प्रहार गरी ३६ रन जोडे। रोभमन पवेलले ८ बलमा २ चौका र १ छक्का प्रहार गरी १६ रन जोडेर नट आउट रहे।
त्यसअघि शिम्रोन हेटमायरले १४ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २६ रन बनाएका थिए। ओपनर टम कोलर क्याडमोरले २०, कप्तान सञ्जु सामसनले १७ र ध्रुव जुरेलले ८ रनको योगदान गरे।
बलिङतर्फ बैंगलुरूका मोहम्मद सिराजले २ तथा लोकी फर्गुशन, करन शर्मा र क्यामरून ग्रीनले १/१ विकेट लिए। अहदावादस्थित नरेन्द्र मोदी स्टेडियममा पहिले ब्याटिङ गरेको बैंगलुरूले ८ विकेट गुमाएर १७२ रनको योगफल तयार गरेको थियो।
त्यस क्रममा ओपनर विराट कोहलीले २४ बलमा ३ चौका र १ छक्का प्रहार गरी ३३ रन बनाए। कप्तान फाफ डु प्लेसिस १४ बलमा २ चौका र १ छक्का प्रहार गरी १७ रन बनाए। क्यामरून ग्रीनले २१ बलमा २ चौका र १ छक्का प्रहार गरी २७ रन जोडे भने रजत पाटीदारले २२ बलमा २ चौका र १ छक्का हानेर ३४ रनको योगदान गरे। महिपाल लोम्रोरले ३२ रन बनाउँदा दिनेश कार्थिक ११ रनमा आउट हुन पुगे।
ग्लेन म्याक्वसेल शून्य रनमा आउट हुँदा स्वप्निल सिंह ९ रन जोडेर नट आउट रहे।
बलिङतर्फ राजस्थानका अवेश खानले ३, रविचन्द्रन अश्विनले २ तथा ट्रेन्ट बोल्ट, सन्दीप शर्मा र युजवेन्द्र चाहलले १/१ विकेट लिए।
पराजित भएको बेंगलुरू आइपिएलबाट बाहिरिएको छ भने राजस्थानले सनराइजर्स हैदरावादसँग क्वालिफायर खेल्नेछ। राजस्थान र हैदरावादबीचको खेलबाट जित्ने टोलीले आइतबार कोलकाता नाइट राइडर्ससँग उपाधिका लागि खेल्नेछ।