वनका कर्मचारीको आडमा सामुदायिक वनमा जथाभावी कटान आदेश, अख्तियारमा समेत उजुरी

कञ्चनपुर – कञ्चनपुरमा डिभिजन वन कार्यालयका कर्मचारी आडमा सामुदायिक वनमा जथाभावी कटान आदेश दिएको पाइएको छ । शुक्लाफांटा न.पा. ११ कलुवापुरमा अवस्थित शुक्लाफाँटा सव डिभिजन वन कार्यालयका प्रमुख भोजराज शर्मा (अधिकृत आठौं) र डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख डिभिजन वन अधिकृत भीम कँडेलको मिलेमतोमा अनुचित र भ्रष्टाचारजन्य कामकारवाही भएको भनि अख्तियार दुरपयोग अनुसन्धानको कार्यालय महेन्द्रनगरमा उजुरी परेका छ । उजुरीकर्ताहरुले अनुचित र भ्रष्टाचारजन्य कामकारवाहीको स्थलगत छानविन गरी आवश्यक कारवाही गर्न समेत माग गरेका छन् ।

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख कँडेल र शुक्लाफाँटा सब डिभिजन वन कार्यालय शुक्लाफाँटा नगरपालिका वडा नं. ११ का प्रमुख शर्मा तथा शुक्लाफाँटा नगरपालिका वडा नं. ८ को सुन्देवी महिला सामुदायिक वन अध्यक्ष भीम बहादुर खडायतको मिलेमतोमा सामुदायिक वनमा जथाभावी कटान गरिएको पाइएको छ । आर्थिक वर्ष २०८०/०८१ मा सुनदेवी महिला सामुदायिक वन उपभोक्ता समुह शु.न.पा. ८ भमरभोजमा साल जातको काठ स्वीकृत कटान भन्दा ५०० क्यू. फि. बढी अनुचित तरिकाले कटान गरी घाटगद्दी गरेको भन्दै अख्तियारमा उजुरी परेका छ ।

डिभिजन वन कार्यालय कञ्चनपुर र शुक्लाफांटा सवडिभिजन वन कार्यालय कलुवापुर पीडितहरुले अख्तियारमा उजुरी दिएका छन् । शुक्लाफाँटा नगरपालिका वडा नं. ११ कलुवापुरमा अवस्थित श्री बसन्त सामुदायिक वन उपभोक्ता समूहले आ.व. २०७८/७९ देखि हालसम्म कर नतिरेको अवस्थामा पनि कानून बमोजिम कर चुक्ता गरी मात्र कटान आदेश दिनुपर्नेमा कर चुक्ता नगरी कटान आदेश दिएर आर्थिक चलखेल समेत गरेको भनि अख्तियारमा उजुरी परेको छ ।

यस्तै शुक्लाफाँटा नगरपालिका वडा नं. ११ कलुवापुरको श्री कृष्ण सामुदायिक वन उपभोक्ता समूहको बारेमा जिल्ला अदालत र उच्च अदालत महेन्द्रनगरमा मुद्दा विचाराधिन रहेको अवस्थामा गैरकानूनी तरिकाले नयाँ कार्यसमिति गठन गरी आर्थिक चलखेल गरी स्वीकृत कटान विपरीत ७ हजार क्यूफिट साल जातको काठ कटान अनुमति दिएको पाइएको छ । यस सम्बन्धमा पनि अख्तियारमा उजुरी परेको छ ।

कञ्चनपुर जिल्ला भरिका अधिकांश सामुदायिक वनहरुमा दोहोरो तेहोरो घरधुरी उपभोक्ता रहेको र सो दोहोरो घरधुरी सदस्यता हटाउन पटक पटक डिभिजन वन कार्यालय कञ्चनपुरलाई अनुरोध गर्दा पनि दोहोरो घरधुरी सदस्यता नहटाएको भनि पीडितहरुले अनुचित कार्यको स्थलगत छानविन गरी आवश्यक कारवाही गरी पाऊँ भनि अख्तियारमा उजुरी दिएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्