काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहसँग भेटवार्ता गरेका छन् ।
बुधबार दिउँसो महानगरपालिकाको सहकारी विभागले गृहमन्त्री पत्नी निकिता पौडेल आबद्ध साई स्वागत सहकारीमा छापा मारेको थियो । सोही समयमा गृहमन्त्री लामिछानेले मेयर बालेनलाई कार्यकक्षमा बोलाएर भेटेका हुन् ।
मेयर बालेनको सचिवालयले गृहमन्त्री लामिछानेसँग समसामयिक विषयमा भेट गरेको जनाएको छ । ‘महानगरको विषयमा छलफल भयो, ठमेल लगायत क्षेत्र चौबिसै घण्टा खोल्ने विषयमा पनि छलफल भएको थियो । गृहमन्त्रीकै निमन्त्रणमा भेट भएको हो,’ सचिवालयका एक सदस्यले भने । महानगरपालिकाले गृहमन्त्री पत्नी आबद्ध सहकारीमा छापा मार्नु र मेयर बालेनले गृहमन्त्री भेट्नुमा कुनै अन्तरसम्बन्ध नरहेको ती सचिवालय सदस्यले दाबी गरे ।
अनुगमन समितिका एक सदस्यका अनुसार २०७६/७८ मा निकिता पौडेल उपाध्यक्ष हुँदा उक्त सहकारीको महत्वपूर्ण कागजात फेला परेको थिएन । काठमाडौं महानगरपालिकाले गृहमन्त्री लामिछानेकी पत्नी निकिता पौडेल निवर्तमान उपाध्यक्ष रहेको साई स्वागत बचत तथा ऋण सहकारीमा छापा मारेको थियो । महानगरपालिकाको सहकारी विभागले लामो समयदेखि बचतकर्ताको उजुरीका आधारमा ‘रेकी’ गरिरहेको सहकारीमा बुधबार विभागका कर्मचारी, महानगर प्रहरी सहित टोलीले छापा मारेको थियो ।
महानगर अनुगमन टोलीका एक सदस्यका अनुसार बिजुलीबजारमा रहेको सहकारी कार्यालयबाट पछिल्लो साधारणसभाको उपस्थिति निर्णय सहित माइन्युट, सहकारीबाट ऋण लिने ऋणीको विवरण, बचतकर्ताको विवरण ल्याइएको छ ।
यस्तै धेरै ऋण लैजाने ऋणी, सञ्चालक समितिका सदस्यहरूको विवरण पनि टोलीले ल्याएको छ । सहकारीको सफ्टवेयर सिस्टम पनि महानगरको टोलीले ल्याएको छ ।