माले, २१ माघ । माल्दिभ्सको विदेश मन्त्रालयले भारतले यस वर्षको मे सम्ममा टापु राष्ट्रबाट आफ्ना सेना फिर्ता गर्ने दाबी गरेको छ ।
भारतीय बिदेश मन्त्रालयले भारतले माल्दिभ्सबाट आफ्ना सेना फिर्ता गर्ने जनाएको छ। अधिकारीहरूले हिन्द महासागर द्वीपसमूहमा तैनाथ करिब ८० सैनिकहरू भारतीय नागरिकहरूले प्रतिस्थापन गर्ने बताएका छन्।
माल्दिभ्सले द्विपक्षीय सहयोग सम्बन्धी विभिन्न विषयमा दिल्लीमा भएको उच्चस्तरीय बैठकमा भएको सहमतिलाई उद्धृत गर्दै भारतीय सैनिकको पहिलो समूह मार्च १० सम्म र बाँकी मे १० सम्ममा देश छाड्ने बताएको हो ।
माल्दिभ्सको विदेश मन्त्रालयले दुई देशबीचको अर्को द्विपक्षीय बैठक फेब्रुअरीको अन्तिम साता मालेमा हुने जनाएको छ ।
उता, भारतको विदेश मन्त्रालयले दुवै देशले भारतीय उड्डयन प्लेटफर्मको सञ्चालनलाई निरन्तरता दिन भने सहमत भएको बताएको छ। तर, मन्त्रालयले सेना फिर्ता गर्ने कुनै समयसीमा तोकेको छैन । भारतले माल्दिभ्समा तैनाथ एक दर्जन स्वास्थ्यकर्मीसहित भारतीय सैनिकले देशको दुर्गम क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई मानवीय सहायता र चिकित्सा उपचार उपलब्ध गराएको जनाएको छ।