साइना, ३ माघ । यमनका हुथी विद्रोहीहरूले लाल सागरमा माल्टाको झण्डा भएको कार्गो जहाजमा मिसाइल आक्रमणको जिम्मेवारी लिएका छन् ।
संयुक्त राज्य अमेरिकाले मुख्य जलमार्ग वरपर बढेको तनावको बीचमा हुथी लक्ष्यहरूमा नयाँ आक्रमण सुरु गरे पछि हुथीहरूले पनि सो कार्गो जहाजमा मिसाइल आक्रमण गरेका हुन् ।
‘एउटा माल्टाको झण्डा भएको, ग्रीक स्वामित्वको बल्क क्यारियरलाई दक्षिणी लाल सागरको उत्तरतर्फ ट्रान्जिट गर्दै मिसाइल छेडिएको छ,’ समुद्री जोखिम व्यवस्थापन कम्पनी एम्ब्रेले मंगलबार एक चेतावनीमा भनेको छ ।
हुथीका सैन्य प्रवक्ता याह्या सारियाले एक विज्ञप्तिमा भनेका छन्, ‘ यमनी विद्रोहीहरूले मंगलबार जोग्राफिया जहाजलाई इजरायलतर्फ गइरहेको बेला नौसेनाको क्षेप्यास्त्रले निशाना बनाएको थियो, जसको परिणामस्वरूप सीधा प्रहार भएको छ ।’
सो प्रहार पछि के कति क्षति भएको छ ? त्यसको कुनै रिपोर्ट आएको छैन। जहाज उत्तरतर्फ स्वेज नहरतर्फ गइरहेको बेला आक्रमण भएको थियो ।
ग्रीसको जहाज तथा टापु नीति मन्त्रालयका अनुसार सो जहाजका बारेमा थप बुझ्ने काम भइरहेको छ।
यसअघि मंगलबार, अमेरिकी सेनाले हालैका दिनहरूमा इरान समर्थित समूहमा तेस्रो आक्रमणमा एन्टी शिप मिसाइलहरू प्रहार गर्दै हुथीहरू विरुद्ध नयाँ आक्रमण सुरु गरेको बताएको थियो।