काठमाडौं – यही माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता आजदेखि लागू हुँने भएको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार आज मध्यरातदेखि आचारसंहिता लागू हुँने छ ।
निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्ने उद्देश्यले निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गर्न लागेको हो ।
मतदान केन्द्र बन्द नहुन्जेलसम्म आचारसंहिता लागू हुने छ । आचारसंहिता लागू भएपछि भोट माग्न पाइँदैन । कुनै पनि प्रक्रारका अन्तरक्रिया, सम्मेलन, गोष्ठी, उदघाटन तथा सामाजिक सन्जाल, अनलाइन वा छापा माध्यमबाट पनि भोट माग्ने वा कुनै दल तथा उम्मेदवारको पक्ष–विपक्षमा सन्देश, सूचना वा समाचार राख्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।
आचार संहिता सरकार, सरकारका मन्त्री, कर्मचारी, राजनीतिक दल, उम्मेदवार, सुरक्षाकर्मी, संवैधानिक निकायका पदाधिकारी, शिक्षक, पत्रकार, सार्वजनिक पद धारण गरेका व्यक्ति, पर्यवेक्षक, अर्धसरकारी र निजी संघसंस्था लगायतमा लागू हुने निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ सिटका लागि हुने निर्वाचनको मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् ।