काठमाडाैं – त्रिशूली नदीमा भारतीय नम्बर प्लेटको बोलेरो गाडी फेला परेको छ । आज बिहान एउटा गाडी नदीमा खसेको सूचना पाएपछि गाडी खोज्न कुरिनटारस्थित सशस्त्र प्रहरीको सात जनाको गोताखोर टोली परिचालन गरिएको थियो ।
परिचालित गोताखोरको टोलीले भारतीय नम्बर प्लेटको बोलेरो गाडी फेला पारेको हो । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुल नजिकबाट त्रिशूली नदीमा गाडी खसेको सूचना पाएपछि गोताखोरको टोली परिचालन गरिएको थियो । गाडी कहाँबाट कहाँ जाँदै थियो भन्ने केही नखुलेको र सवार मानिस पनि फेला नपरेको सशस्त्र प्रहरीका डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।