शिक्षा, स्वास्थ्य, रोजगारीलगायत विभिन्न सेवासुविधाको खोजीमा मानिसहरु आफ्नो जन्मस्थलबाट अर्को ठाउँ सर्छन् । कतिपय त व्यापार व्यवसायको लागि पनि एक जिल्लाबाट अर्को जिल्लामा बसाई सर्छन् । काठमाडौं उपत्यकाभित्र ७७ वटै जिल्लाका मानिसहरु बसोबास गर्छन् ।
घरधनीहरु ठाउँअनुसार एउटा कोठाको मासिक आठ हजारदेखि २० हजारसम्म लिन्छन् । एक फ्रल्याटको २५ हजारदेखि दुई लाख र एउटा सटरको २५ हजारदेखि १६ लाखसम्म असुल्छन् । खाली सटर २० लाखदेखि ६० लाखसम्ममा खरिदबिक्री हुन्छ ।
घरधनीहरुले डेराबहालसम्म लिएको भाडा सरकारले निर्धारण गरेको होइन । घरधनीहरुले आफैंले निर्धारण गरेका हुन् । अहिले पनि ९५ प्रतिशत मानिसहरु भाडामा बस्छन् । घरधनीहरु भाडा भने महंगो लिन्छन् । तर, सेवासुविधा भने केही दिदैंनन् ।
पानी दिदैंनन् न त छतमा कपडा नै सुकाउन दिन्छन् । यता, बत्ती, फोहोर र पानीको पैसा त दोब्बर लिन्छन् । सवारीसाधन राखेको समेत मासिक तीन हजारदेखि पाँच हजारसम्म असुल्छन् । महिना मर्न नपाई भाडा माग्न आइपुग्छन्, घरधनीहरु ।
कतिपय घरधनीहरु त बस्नुअघि नै तीन महिनाको भाडा माग्छन् । सरकार भन्छन्, ‘पैसा तिरेपछि बिल अनिवार्य लिनुस् ।’ तर, घरधनीहरु डेराबहालसँग भाडा चाँहि चर्को लिन्छन् भने बिल चाहिँ दिदैंनन् । एक्लो महिला, विद्यार्थी, तल्लो जाति, आर्थिक अवस्था कमजोर भएका व्यक्ति, बुढाबुढी, अपांगलगायतलाई घरधनीहरु कोठा भाडामा दिदैंनन् ।
घर चाहिँ भाडामा लगाउँछन् तर न शौचालयको लागि पानी दिन्छन् न त घरायसी प्रयोजनका लागि नै । बुढोपाकाले भन्थे, ‘बाँस चाँडै बढ्छ, तर त्यो बाँस लुगिएन भने हावाले हानेर भाँचिन्छ ।’ उपत्यकामा जति पनि घर बनेको छ, त्यो सबै एक आनादेखि तीन आना जग्गामा बनेको पाइन्छ ।
घर बनाउँदा एकातिर खुल्ला ठाउँ छोडिएको छैन, अर्कोतिर सार्वजनिक बाटो समेत घर बनाइएको छ । तीन आना जग्गामा पाँच तल्लादेखि अठार तल्लासम्मको घर बनाइएको छ । अर्को कुरा यो घरका कोठामा एउटा खाट अट्न मुस्किल पर्छ । अध्याँरोका कारण दिउँसै बत्ती बाल्नुपर्छ ।
भूकम्प आएमा हावाका कारण बाँस भाँचिएझैं यी घरहरु पनि भत्किन छन् । घरधनीहरु घर भाडामा लगाएर महिनाको लाखदेखि करोड भाडा उठाउँछन् । राज्यलाई भने सुको कर तिर्दैनन् । एउटा घरमा करोडदेखि अर्बो लगानी गरिएको छ ।
तर, त्यो लगानीको पनि राज्यलाई कर तिरिदैंनन् । एक पटक घर बनाएपछि त्यो घर नभत्किनुजेलसम्म केही पनि मर्मतसम्भार गरिदैंन । वडा र नगरपालिका पनि आफ्नो नगरभित्र रहेका कुन घर भाडामा छ ? र, कुन घर भाडामा छैन ? भनेर अनुगमन गर्न जादैँन ।
कर तिर्नुपर्छ भनेर घरधनीहरु वडा र नगरपालिकामा आफ्नो घर खाली रहेको वा भाडामा आफन्त बसेको भनेर ढाँट्छन् । घरधनीहरुले राज्य र डेराबहाल दुवैलाई ठगेका छन् । एकतर्फ डेराबहालसँग महंगो भाडा लिने अनि सेवासुविधा नदिएर शोषण गर्छन्, अर्कोतर्फ राज्यलाई राजस्व छल्छन् ।
डेराबहालहरु बिरामी भएमा सहयोग गर्नुको साटो घरधनीहरु बाटोमा निस्कालदिन्छन् । आफ्नो घरमा मर्न नदिने भन्दै डेराबहालहरुको बिजोग बनाउँछन् । स्थानीय तहहरुले अब सरकारी कर्मचारी खटाएर आफैंले भाडा उठाउनुपर्छ । डेराबहालको तंथ्याक लिनुपर्छ ।
उठेको रकममध्ये राज्यले पाउनुपर्ने कर काटेर घरधनीहरुको खातामा हालिदिनुपर्छ । घरहरुलाई अनिवार्य घरेलु÷कम्पनीमा लगेर पञ्जीकरण वा प्राधिकरण चेकजाँच गर्नुपर्ने व्यवस्था मिलाउनुपर्छ । अटेरी गर्ने घरहरुलाई राज्यबाट उपलब्ध हुने सेवासुविधा दिनुहुन्न ।
घर सम्पन्नता प्रमाणपत्र खारेज दिनुपर्छ भने घरको नामसारी, किनबेच पनि रोकिनुपर्छ । आफ्नो स्वार्थको लागि घरधनीहरु भत्किन लागेको, चिसो, अध्याँरो घर भाडामा लगाउँछन् । यसले गर्दा भूकम्प आउँदा धेरैले अकालमै ज्यान गुमाउनुपरेको छ । साथै, त्यस्तो चिसो कोठामा बस्दा बुढाबुढी, बालबच्चाहरु बिरामी भई कतिपयको मृत्यु समेत हुने गरेको छ ।
०७२ बैशाख १२ गते भूकम्प आउँदा धेरै घरहरु भत्कियो । अधिंकाशले आफ्नो ज्यान गुमाउनुपर्छ । घरधनीहरुका कारण । भूकम्पले धेरै घर चर्कियो । अर्पाटमेन्ट, हाउजिङ्गलगायत घरहरु पनि चर्कियो । तर, घरधनीहरुले अहिले पनि त्यो घर मर्मत गरेका छैनन् ।
टालटुल गरेर त्यँही घरलाई रंग लगाएर राखेका छन् । अब भूकम्प आएमा सबै घर भत्किन छ । ठूलो धनजनको क्षति हुनेछ । काठमाडौं उपत्यका विकास प्राधिकरणले ९५ प्रतिशत घर सरकारको मापदण्डविपरीत बनेको बताइसकेको छ ।
वडाध्यक्ष र मेयरहरुले त्यस्तो घरहरुलाई समेत पैसा र भन्सुनको आधारमा घर सम्पन्नताको प्रमाणपत्र दिएका छन् । बजारमा ८० प्रतिशतभन्दा बढी कोठा, सटर र फ्रल्याट खाली भएको बुझिन्छ । जताततै टुप्लेट लेखिएको पोस्टर देखिन्छ । घरजग्गामा लगानी गर्ने व्यक्ति र बैंक तथा वित्तिय संस्था डुब्दै गएका छन् ।
घर धितो राखेर बैंकबाट ऋण लिएको व्यक्ति तथा संस्थाले किस्ता तिरेको छैन । फेरि त्यो घर बेच्छुभन्दा बिक्री पनि हुन्न । तीन वर्षअघि पाँच करोडमा किनेको घडेरी अहिले करोडमा बिक्री नभएको समेत सुनिन्छ । घरधनीहरुलाई एकातिर बैंकको ऋणको तनाव छ, अर्कोतिर घर खाली हुदैं गएको छ ।
ऋण लिएर घर त बनाए तर अब इट्टा टोक्न मिल्दैंन, डण्डी खान मिल्दैंन । न घर बिक्री हुन्छ न भाडामा जान्छ । सहरी विकास मन्त्रालय र सहरी विभागले अहिले घर बनाउने मापदण्ड परिर्वतन गरेको छ । जसले गर्दा यो घर भत्किएमा अर्को घर बनाउनका लागि जग्गा पुग्दैंन ।
अहिले पो घरधनीहरुले मनोमानी ढंगले सार्वजनिक जग्गा समेत मिचेर घर बनाएका थिए । भाडामा बस्नुभन्दा बैंकबाट कर्जा लिएर घर बनाउँदा ठिक होला भन्दै मानिसहरुले बैंकबाट ऋण लिएर घर बनाए । उनीहरुको सोच थियो कि घर भाडामा लगाएर बैंकको ऋण तिरिन्छ । तर, अहिले घर भाडामा नगएपछि वा घरजग्गाको किनबेचमा समेत मन्दी छाएपछि उनीहरु तनावमा छन् ।
९५ प्रतिशत मानिसको घरजग्गा, गाडी र सेयर बैंक तथा वित्तिय संस्थाको नाममा छ । बैंकको ऋण तिर्न पैसा छैन कि धितो बेच्न खोज्दा बिक्री हुन्न । ऋण लिएर घरजग्गा, गाडी र सेयरमा लगानी गर्नेहरु त डुबिहाले । अब पालो बैंकको डुब्ने हो । सरकारले समयमै घरजग्गा, गाडी र सेयरमा लगानी गर्न रोकिदिएको भए आज यो अवस्था आउँदैंन थियो ।
बैंकले सय रुपैयाँमा निष्काशन गरेको सेयर ३५ सयमा बेचियो, दशकअघि एक रुपैयाँ आना नपर्ने जग्गा लाखौंमा बेचियो त एक लाखमा बिक्री नहुने गाडी करोडमा बिक्री गरियो । दलालीहरु यसरी कमाउनु कमाए तर सर्वसाधारण जनता भने फसेका छन् । सरकारले समयमै आवश्यक कानून नल्याउँदा आज जनताले बैंकमा राखेको रकम जोखिममा परेको छ । बैंकको सम्पूर्ण लगानी घरजग्गा, गाडी र सेयरमा छ । तर, अब त्यो कर्जा उठ्ने छैन भने धितो मूल्य झन् झन् घट्टै गएको छ ।
व्यक्तिसँगै बैंक तथा वित्तिय संस्थाले उद्योग, कलकारखानामा लगानी नगरी घरजग्गा, गाडी र सेयरमा मात्र लगानीको मुख्य स्रोत बनाउँदा आज मुलुकको अर्थतन्त्र समेत संकटमा परेको छ । सर्वसाधारणले सहकारीमा राखेको रकम त डुबि नै हाल्यो । यो बैंकमा राखेको निक्षेप पनि छिट्टै डुब्नेछ ।
मुलुकको खेतीयोग्य जमिन पनि घर र बाटो बनाउँदा मासिसकेको छ । जसले गर्दा खाद्य संकटको संकेत समेत देखिएको छ । महंगी, बेरोजगारी र गरिबी दिनानु बढ्दै गएको छ । श्रमिकहरुले वर्षेदेखिकोतलब पाएका छैनन् । तलबबिनै उनीहरुलाई कामबाट निकालिएको छ । यसले कयौं युवा विदेशिएका छन् त कयौं गाउँ फर्किएका छन् ।
सर्वसाधारणलाई बिहान–बेलुकाको छाक टार्न धौंधौं परेको छ अनि कोठा भाडा कसरी तिर्ने ? कसरी सटर भाडा तिर्ने ? मुलुकको आर्थिक मन्दीले भयावह रुप लिइसकेको छ । तर, घरधनीहरुले अझै पनि ठग्न छोडेका छैनन् । कहिले आउँछ घरधनीहरुमा चेतना ?
रुषा थापा
भक्तपुर