काठमाडौं– रोजगार अनुमति प्रणाली इपिएस मार्फत भाषा परीक्षाका लागि आवेदन दिने सबैलाई परीक्षा गराउन दक्षिण कोरिया तयार भएको छ । इपिएसअन्तरगत जहाज निर्माणको भाषा परीक्षामा सहभागी भएकाहरु दक्षिण कोरियाको उत्पादनमूलक क्षेत्रमा खुलाइएको भाषा परीक्षामा पनि सहभागी हुन पाउने भएका हुन् ।
बैदेशिक रोजगार बिभाग र कोरियाको मानव संशाधन बिभाग (एचआरडी) का अधिकारीहरुबीचको बैठकमा यसअघि पानी जहाज निर्माण क्षेत्रको भाषा परीक्षामा अनुतीर्ण भएकाहरुलाई पनि अब हुने उत्पादनमुलक क्षेत्रको परीक्षामा सहभागी गराउने सहमति भएको हो ।
अब यो परीक्षा तीन चरणमा हुनेछ । परीक्षा माघको ६ गतेबाट सुरु हुनेछ । परीक्षामा सहभागी हुन यसवर्ष एक लाख ६४ हजार जनाको आवेदन परेको छ । पहिलो चरणमा ४७ हजार, दोस्रोमा ८० हजार र तेस्रो चरणमा ३७ हजार जनालाई उत्पादनमूलकतर्फ परीक्षा दिन लगाइनेछ ।
यसअघि पानीजहाज निर्माणको परीक्षामा सहभागी भएका ३२ हजार जनाले उत्पादन क्षेत्रका लागि खुलाइएको भाषा परीक्षामा आवेदन दिन पाएका थिएनन् । त्यसरी बञ्चित भएकाहरुमध्ये केहीले उच्च अदालतमा रिट गरेकोमा अदालतले परीक्षामा सहभागी गराउन आदेश दिएको थियो ।
अदालतको आदेशपछि परीक्षामा अनुतीर्ण भएका सबैले फारम भर्न पाउनुपर्ने भन्दै प्रदर्शन गरेका थिए । त्यही प्रदर्शनका क्रममा दुई जना युवाको ज्यान गुमेपछि यो विषय झन् जटिल बनेको थियो ।