भक्तपुर, २२ पुस । विज्ञहरुले इन्जिनियरिङका विद्यार्थीका लागि स्वदेशमै राम्रो स्कोप रहेको अनुभब सुनाएका छन् ।
उनीहरुले अरु विषयका विद्यार्थी विदेश गए पनि इन्जिनियरिङका विद्यार्थीका लागि त्यो आवश्यक नभएको अनुभब साटे । उनीहरुले इन्जिनियरिङका विद्यार्थीले यही नै राम्रो काम र दाम पाउने बताए । त्यसकारण विदेश नजान उनीहरुले अनुरोधसमेत गरेका छन् ।
नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरबाट सिभिल इन्जिनियरिङ र सिभिल एण्ड रुरल इन्जिनियरिङको पढाई पूरा गरेका विद्यार्थीको विदाई कार्यक्रममा उनीहरुले हरेक हिसावले इन्जिनियरिङका विद्यार्थीलाई नेपालमै राम्रो रहेको सुनाए ।
पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिन डा राजेश ठकुराठीले मेहनतका साथ काम गरे इन्जिनियरहरुलाई नेपालमै राम्रो रहेको बताए । इन्जिनियरिङका विद्यार्थीलाई विदेश नै गएर काम गर्नुपर्छ भन्ने नभएको भन्दै उनले नेपालमै पनि राम्ररी काम गरेर बसेका धेरै इन्जिनियरहरु रहेको जानकारी गराए ।
नेपाल इन्जिनियरिङ परिषदका उपाध्यक्ष डा विकास अधिकारीले नेपाली इन्जिनियरहरुलाई नेपालमै प्रसस्त सम्भाबना भएको सुनाए । ‘तपाईहरु विदेश जानु पर्दैन कोही पनि, नेपालमै धेरै स्कोपहरु छन्’ उनले भने, ‘अव नेपालमै ठूल्ठूला प्रोजेक्टहरु सञ्चालन गर्नुपर्ने र त्यसमा हजरौ इन्जिनियरहरु आवश्यक रहेको छ ।’ नेपालमा अहिले लर्निगसँंगै अर्निगको वातावरण हुनुपर्नेमा जोड दिए । यसका लागि करिकलमलाई नै परिवर्तन गर्नु आवश्यक रहेको भनाई राखे । साथै चारपाँंच वर्षे इन्जिनियरिंगको लामो कोर्ष दुई तीन वर्षमै सिमित गर्नुपर्ने आवश्यकता उनले औंल्याए ।
कलेजका कार्यबाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीले कलेजबाट विदा भएका विद्यार्थीहरुलाई इमान्दारिताका साथ काम गर्न निर्देशन दिए । उत्पादित विद्यार्थी नै कलेजको वास्तविक व्राण्ड एम्वेसडर भएको भन्दै उनले आचारसंहितामा रहेर काम गर्न निर्देशन दिए । साथै उनले विदाई भइ गएका विद्यार्थीबाट भालिका दिनमा पनि कलेजका लागि सल्लाह, सुझाब, सहयोग पाइरहने विश्वास व्यक्त गरे ।
कलेजमा सिभिलमा एक सय ४४ र सिभिल एण्ड रुरल इन्जिनियरिङमा ४८ कोटा छन् । यी सवै कोटाहरुमा यहाँं पूर्ण विद्यार्थी हुन्छन् ।
परिषद्को तथ्यांक अनुसार परिषद्मा देशभर ७८ हजार इन्जिनियरहरु छन् । तीमध्ये आधी भन्दा वढी इन्जिनियरहरु विदेशमा रहेको अनुमान छ । देशभरबाट वर्षमा आठ हजारको हाराहारीमा इन्निनियरहरु उत्पादन हुने तथ्यांक छ । नेकमा विभिन्न संकायहरुमा पूर्ण सिटका साथ पढाई भइरहेका हुन्छन् ।