काठमाडौं, १५ पुस । सरकारले ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनाको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने भएको छ।
बालकुमारीस्थित ईपीएस शाखा कार्यालयमा कोरियाली भाषा परीक्षाको फारम भर्ने क्रममा उत्पन्न विवादपछि प्रहरीले चलाएको गोली लागेर दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो घटनाबारे जाँचबुझ गर्न जाँचबुझ आयोग ऐन २०२६ को दफा ३ को उपदफा (२) बमोजिम पूर्वन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्नेसम्बन्धी प्रस्ताव ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएका छन्। सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले आयोग गठनको औपचारिक निर्णय गर्ने र सो आयोगले सोमबारदेखि नै कार्य प्रारम्भ गर्ने बताइएको छ।
सत्तारुढ दल नेपाली कांग्रेसले बालकुमारी घटना छानबिनका लागि उच्चस्तरीय न्यायिक समिति गठन गर्न सरकारसँग माग गरेको थियो।