काभ्रे – काभ्रेपलाञ्चोक जिल्लाको बोगटी गाउँमा पहिलोपटक सडक पुगेपछि स्थानीयवासी खुशी भएका छन् । बनेपा नगरपालिका वडा नम्बर ११ कार्यालयले ५ वर्ष अगाडि नै बजेट विनियोजन गरेपनि व्यक्तिको प्लटिङ जमिनको विवादले खन्न रोकिएको थियो । तर यस वर्ष भने पनौति नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष विनोद केसी र बनेपा नगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष शिव कुमार थापाले प्लटिङ जग्गाको धनीसँग सहमति गरी बोगटी गाउँमा मोटरबाटो पुर्याएको हो । सडक नहुँदा नगरपालिकाकै दुर्गम बनेको ठाउँमा मोटरबाटो पुगेपछि आफुहरुलाइ सहज भएको स्थानीय सबिन बोगटीले बताए । उनले भने, “बनेपा विकसित भएको ठाउँ भनेपनि हाम्रो गाउँमा सडक आइपुगेको थिएन, सडक नहुँदा हामीलाई धेरै समस्या थियो । धेरै तलसम्म हिँडेर पुग्नुपर्ने बाध्यता थियो । खाद्यान्नका सामग्री बोकेरै लानुपर्थ्यो । विरामी हुँदा एम्बुलेन्स, आगोलागि हुँदा दमकल समेत नआउँदा हामीले सास्ती खेपेका थियौ । गोरेटो बाटो मात्र भएकोले यो गाउँभरीका कसैले सवारी साधन घरमा ल्याउन पाउँदैनथे । तर बनेपा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष शिव कुमार थापाले लामो समयदेखि निरन्तर पहल गरेर बाटो ल्याइदिनुभयो । हामी स्थानीय सबैले वडाअध्यक्षलाइ धेरै धेरै धन्यवाद दिन्छौ ।”
बनेपा मुद्रन सेक्युरेटी फेसको पश्चिमपटिको करिब ३ सय मिटर लम्बाइ र १६ फिट चौडाइ भएको बाटो खनी बोगटी गाउँसम्म पुर्याएको बनेपा नगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष शिव कुमार थापाले बताए । उनले भने ” म पहिलो कार्यकाल पनि यही वडाको वडाअध्यक्ष थिए । त्यतिबेला नै बाटो लान खोजेका हौ । तर व्यक्तिको प्लटिङ जग्गाले बाटो लान अवरोध भयो र पछि पनौती नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष विनोद केसी र म भएर पटक पटक जग्गाधनीसँग बसेर सहमति गरी यसपटक मोटरबाटो पुर्यायौ । अब यसलाइ पीच गर्नपनि प्रयास गरिरहेका छौ ।” बोगटी गाउँमा मोटरबाटो पुगेपछि करिब २० घर लाभान्वित भएका छन् ।