काठमाडौं, २७ मंसिर । संयुक्त राष्ट्रसंघको महासभाले गरेको युद्धग्रस्त गाजामा तत्काल मानवीय युद्धविरामको मागप्रति नेपालले समर्थन गरेको छ ।
मंगलरबार महासभाको आपतकालीन विशेष सत्रमा युद्धविरामको पक्षमा १५३ राष्ट्रले मतदान गरेका हुन् । जसमध्ये नेपालले पनि गाजामा तत्काल युद्धविराम गर्नुपर्ने प्रस्तावको पक्षमा मतदान गरेको हो ।
राष्ट्रसंघका १९३ सदस्य राष्ट्रमध्ये गाजामा युद्धविरामको पक्षमा १५३ राष्ट्रले मतदान गर्दा विपक्षमा १० र तटस्थ २३ राष्ट्रले मत दिए ।
अमेरिकाले प्रस्तावको विपक्षमा मतदान गरेको थियो ।
गत ७ अक्टोबरबाट इजरायल र हमासबीच युद्ध भइरहेको छ । जसले गाजा क्षेत्रमा ठूलो धनजनको क्षति भएको छ । यो युद्धले करिब १८ हजारभन्दा बढी प्यालेस्टाइनी मारिएका छन् । हमासको आक्रमणमा परि १४ सयभन्दा बढी इजरायली मारिएका छन् ।