काठमाडाैँ– मेलम्ची खानेपानी संघर्ष समिति सरकार विरुद्ध उत्रिएको छ । शुक्रबार कोटेश्वरको महादेव मन्दिर परिसरमा पत्रकार सम्मेलन गर्दै संघर्ष समतिले सरकारलाई अल्टिमेटम समेत दिएको छ । आयोजना निर्माणमा सरकारले गरेको वेवास्ताविरुद्ध चर्काै आवाज उठाउदैँ समितिका संयोजक गोविन्दराज पन्तले छिट्टै मेलम्चीको पानी काठमाडौँमा वितरण नभए अझ सशक्त भएर लाग्ने चेतावनी दिनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल व्यापार संघका अध्यक्ष समेत रहेका कोटेश्वरका स्थायी घर भएका व्यवसायी हरि गौतमले मेलम्चीको पानी काठमाडौँ आउन धेरै व्यवधान नभएको र सरकारले ध्यान नदिएको आरोप लगाएका छन् । सरकारले आयोजना नसक्ने भनेर जानकारी गर्छ भने हामि मिलेर आयोजना अघि बढाएर पानी काठमाडौँमा ल्याउछौँ गौतमले भन्नुभयो ।
यहि मंसिर ८ गते मेलम्ची खानेपानी आयोजनाको खानेपानी आपूर्तिमा देखिएको व्यवधानको बारेमा यथार्थ जानकारी लिने उद्देश्यले काठमाडौँ महानगरपालिका वडा नं.३२ कोटेश्वर र अन्य उपत्यकावासीको तर्फबाट स्वफूर्त रुपमा प्रतिनिधित्व गर्दै ६ जनाको टोलि हेलम्बु गाउँपालिकाको अम्बास्थान जुन मेलम्चीको हेडवक्र्स थियो त्यहाँ उक्त टोलि पुगेर स्थलगत निरिक्षण समेत गरेको छ । गोविन्दराज पन्तसँगै हरि गौतम, राममणि अधिकारी, रामभक्त थापा, नारायण गिरी, गोगन पराजुलीको टिम उक्त स्थलमा पुगेको थियो ।
मेलम्ची खानेपानी आयोजना नेपालको राष्ट्रिय गौरबको अयोजना मध्येको एक हो जसका लागिहालसम्म ७० अर्ब रुपैया खर्च भइसको छ । निरन्तर लगानी भइरहदापनि जनतालाई स्वच्छ खानेपानी आपूर्ति गर्ने जिम्मेवारीबाट सरकार पन्छिएको संघर्ष समितिले आरोप लगाएको छ । गत बर्षमा अस्थायी रुपमा वितरण गरिएको खानेपानी गत असार देखि बन्द गरिएको छ । बर्ष सकिएको दुईरअढाई महिना वितिसक्दापनि आयोजना सञ्चालन गर्ने कुनै सुरसार नभएकोले आफुहरु आक्रोशित भएको हरि गौतमले जानकारी दिनुभयो ।
उक्त समतिले मेलम्ची खानेपानी विकास समितिलाई समेत ध्यानाकर्षण पत्र बुझाइसकेको छ । यदि मेलम्ची खानेपानी आयोजनामा सरकारले चासो नदेखाए कडा र्सघर्ष सहित आन्दोलनको घोषणा गर्ने समेत चेतावनी दिएका छन् ।