काठमाडौं, १५ मंशिर । सिके राउत नेतृत्वको जनमत पार्टीले वडा कमिटीदेखि प्रदेश कमिटीसम्मको अधिवेशन गर्ने भएको छ ।
दोस्रो महाधिवेसनको तयारी स्वरूप सो पार्टीले वडा देखी प्रदेश अधिवेसन गर्ने गरी कार्यतालिका बनाइ घोषणा गरेको हो ।
सो पार्टीका अध्यक्ष राउतका अनुसार हालै बसेको पार्टी सचिवालय बैठकले वडादेखि प्रदेश कमिटीको अधिवेशन गर्ने निर्णय गरेअनुसार अधिवेशन तालिका सार्वजनिक गरेको छ ।
जसअनुसार मंसिर १५ गतेदेखि माघ १५ गतेसम्म वडा अधिवेशनको समय तोकिएको छ। जसका लागि प्रत्येक वडामा पर्यवेक्षक खटाइँदै छ।
वडा अधिवेशनपश्चात् माघ १५ देखि फागुन १५ गतेसम्म पालिका अधिवेशन र चैत ३ गते एकैसाथ सबै जिल्ला अधिवेशन गरिने सो पार्टीले जनाएको छ ।
साथै, ०८१ वैशाख २४ गतेदेखि ३० गतेसम्म प्रदेश अधिवेशन गर्ने गरी कार्यतालिका बनाइएको छ ।