काठमाडौँ, १० मङ्सिर । जारी नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत धनगढी एफसीले विजयी शुरुवात गरेको छ ।
आइतबार दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढी एफसीले वीरगन्ज युनाइटेड एफसीलाई २-१ गोल अन्तरले पराजित गरेको हो । खेलको ९०औं मिनेटमा गोल गर्दै धनगढीले वीरगन्जमाथि रोमान्चक जित हासिल गरेको हो ।
धनगढीको जितमा फोडे फोफाना र अहमद हिजाजीले एक एक गोल गरेका थिए । हिजाजीले खेलको ९०औँ मिनेटमा गोल गर्दै धनगढीको जित सुनिस्चित गरेका थिए । यसअघि फोफानाले खेलको दोस्रो मिनेटमै गोल गरेर धनगढीलाई शुरुवाती अग्रता दिलाएका थिए ।
त्यस्तै वीरगन्जले खेलको पहिलो हाफको अन्त्यमा पेनाल्टीबाट गोल गर्दै खेल बराबरी गरेको थियो । वीरगन्जका लागि हान्स क्वोफीले गोल गरेका थिए ।
यो जितसँगै धनगढीले महत्वपूर्ण तीन अंक हासिल गरेको छ ।
अब एनएसएल अन्तर्गत सोमबार झापा एफसी र स्पोर्टिंग इलामबीच साँझ साढे ५ बजेदेखि हुने तालिका रहेको छ ।