उपत्यकामा आजको कार्यक्रम शान्तिपूर्वक र संयमित रुपमा गर्न गराउन स्थानीय प्रशासनको आग्रह

काठमाडौं – उपत्यकामा आजका लागि तय गरिएको कार्यक्रम शान्तिपूर्वक र संयमित रुपमा गर्न गराउन स्थानीय प्रशासनले आग्रह गरेको छ । दुर्गा प्रसाई र युवा संघ नेपालले एकै दिन छुट्टाछुट्टै परस्पर विरोधी कार्यक्रम आयोजना गर्ने घोषणा गरेपछि अवान्छित गतिविधिहरु हुन नदिन काठमाडौं र ललितपुरका निश्चित क्षेत्रलाई निषेधित क्षेत्र समेत तोकिएको छ ।

काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार उपत्यकाको सुरक्षा व्यवस्थालाई मजबुत बनाउन डिआईजी लालमणि आचार्यको नेतृत्वमा ज्वाइन्ट अप्रेसन कमाण्ड सेन्टर गठन गरिएको छ । कमाण्ड सेन्टरमा सशस्त्र प्रहरी बलका एसएसपी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक र नेपाली सेनाका कर्णेलसहितको संयुक्त टिम गठन गरिएको छ ।

आज हुने प्रदर्शनमा मुठभेड हुन नदिन र शान्ति सुरक्षा चुस्त राख्न एकीकृत सुरक्षा योजना बनाइएको छ । बल्खु र तीनकुनेमा हुने प्रदर्शनमा मुठभेड हुन नदिन र शान्ति सुरक्षा चुस्त राख्न एकीकृत सुरक्षा योजना बनाइएको हो । प्रदर्शन शान्तिपूर्ण रूपमा नै सम्पन्न हुने विश्वास प्रहरी प्रशासनको छ।

दुवै समूहले भक्तपुरबाट जुलुस निकाल्ने भएका छन् । युवा सङ्घले सल्लाघारीबाट र दुर्गा प्रसाई नेतृत्वको समूहले सानोठिमीस्थित एसओएसबाट जुलुस निकाल्ने बताएका छन् । युवा सङ्घको जुलुस मोटरसाइकलसहित कोटेश्वर हुँदै च्यासलस्थित पार्टी कार्यालयमा पुग्ने र च्यासलबाट बागमती कोरिडोर हुँदै बिहान साढे १० मा युवा सङ्घको जुलुस तीनकुने पुग्नेगरी रुट तय गरिएको छ ।

प्रसाई नेतृत्व समूहको जुलुस सानोठिमीबाट पेप्सीकोला हुँदै मित्रपार्क पुग्नेग री रुट निर्धारण गरिएको छ । दुई समूहको प्रदर्शनका कारण उपत्यकाको ट्राफिक व्यवस्था प्रभावित हुन सक्ने भएकोले अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्