अवैध लागूऔषधसहित पक्राउ तथा बरामद

बाँके, कोहलपुर नगरपालिका–३ मैटुहवाबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ २ ग्राम १ सय ९० मिलिग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बैजनाथ गाउँपालिका–४ नौलापुर बस्ने ५० वर्षीय परशुनाथ थारु र दैलेख भैरबी गाउँपालिका–७ बस्ने २९ वर्षीय घनश्यामसिंह गुरुङ रहेका छन् । ३ नम्बर बिट मदनचोकबाट खटिएको प्रहरीले भे.८ प ९९१६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवारी उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । मकवानपुर, मनहरी गाउँपालिका–६ नयाँबस्तीबाट लागूऔषध कोडाइन फोसफेट उइनसिरेक्स लेखिएको १ सय मिलि ग्रामको बोतल ६ सय २ थान, चरेस जस्तो देखिने वस्तु करिब २० ग्राम, प्रदेश ३–०३–००१ प ४५४१ नम्बरको मोटरसाइकल र नगद ८ लाख रूपैयाँसहित कैलास गाउँपालिका–८ वस्ने ३१ वर्षीय बिकास मोक्तान समेत ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । सो ठाउँस्थित कच्ची सडकमा रोकीराखेको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध र नगदसहित फेला पारी पक्राउ गरेको हो ।
उदयपुर, बेलका नगरपालिका–८ कोठुबाट अवैध लागूऔषध खैरो हिरोईन करिब २० ग्रामसहित सुनसरी कोशी गाउँपालिका–५ श्रीपुर बस्ने २१ वर्षीय खैरुल वासरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट  खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित  पक्राउ गरेको हो ।
रूपन्देही, बुटवल उपमहानगरपालिका–१५ सेमलार बस्ने २६ वर्षीय को रोशन थापा मगर र पाल्पा रामपुर नगरपालिका–८ बिजयपुर बस्ने २८ वर्षीय रेशम कुँवरलाई अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम  २ सय ५० मिलिग्राम र नगद १ लाख २० हजार रुपैयाँसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । मगरले लागूऔषधको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले मगरको घरबाट निस्कँदै गरेको अवस्थामा कुँवरलाई १ सय ५० मिलिग्राम र रोशनको साथबाट २ ग्राम १ सय मिलिग्राम उक्त पदार्थ तथा नगद १ लाख २० हजार रुपैयाँ फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
महोत्तरी, सम्सी गाउँपालिका–५ स्थितबाट अवैध लागूऔषध गाँजा ३६ केजी शनिबार राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी पोखरभिण्डाबाट खटिएको प्रहरीलाई देख्नासाथ नेपालबाट भारततर्फ टाउकोमा बोकी लैजाँदै गरेको गाँजा फाली मानिस फरार भए पश्चात प्रहरीले उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार व्यक्तिहरूको खोजी भइरहेको छ ।
रौतहट, गरुडा नगरपालिका–४ गरुडा गाँउबाट अवैध लागूऔषध गाँजा करिब ६ सय ७० ग्राम, ना.२७ प ४१३६ र बीआर ०६ बीपी ०६०३ नम्बरको मोटरसाइकल, साइकल १ थान र चक्कु १ थान शनिबार राति प्रहरीले बरामद गरेको छ । उक्त ठाउँमा लागूऔषध सेवनकर्ताहरुले हो–हल्ला गरिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको प्रहरीलाई देख्नासाथ शंकास्पद व्यक्तिहरू फरार भएपछि घटनास्थलबाट उक्त गाँजा लगायतका सामान बरामद भएको हो । थप अनुसन्धानका लागि प्रहरीले १ जनालाई नियन्त्रणमा लिएको छ ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्