२० जना प्रहरी कर्मचारीलाई श्रव्यदृश्य आधारभूत तालिम प्रदान

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखाले २० जना प्रहरी कर्मचारीलाई श्रव्यदृश्य आधारभूत तालिम प्रदान गरेको    छ  । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही शाखामा संचालित पाँचौ समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।
उक्त तालिम समापनका अवसरमा आइतबार आयोजित कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र तथा प्रशिक्षकहरूलाई प्रशंसापत्र वितरण गर्नुभयो ।
प्रहरी नायव महानिरीक्षक कडायतले अहिले प्रविधिको युग भएकोले तालिमको दौरानमा सिकाइएका विभिन्न ज्ञान सीप प्रहरी कर्मचारीहरुको व्यवसायिक तथा व्यक्तिगत जीवनमा फलदायि हुने विश्वास व्यक्त गर्नुभयो । प्राप्त ज्ञानलाई अझै पूर्णता ल्याउनका लागि आफ्नो कार्यक्षेत्रमा गएपश्चात थप अभ्यास गर्दै आफ्नो काममा निखारता ल्याउनुपर्ने बताउनुभयो । अपराध अनुसन्धानमा प्रविधि र प्राविधिक ज्ञानको प्रयोगले साइबर क्राइम, बैंकिङ कसूरजन्य अपराध नियन्त्रणदेखि प्रहरीले सम्पादन गर्ने हरेक कार्यमा ठूलो सहयोग हुने अपेक्षा रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक कालिका कार्कीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ३० कार्यदिन अवधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक १ जना, प्रहरी सहायक निरीक्षक २ जना, प्रहरी हवल्दार १ जना, प्रहरी सहायक हवल्दार ३ जना र प्रहरी जवान १३ गरी जम्मा २० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।
प्रशिक्षककोतर्फबाट प्रशिक्षक पुरुषोत्तम घिमिरे र प्रशिक्षार्थीकोतर्फबाट प्रहरी नायव निरीक्षक राम प्रसाद मैनालीले आ–आफ्नो मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा श्रव्यदृश्य आधारभूत पाचौं समूहद्वरा तयार पारिएको ट्राफिक सम्बन्धी श्रव्यदृश्य सामग्री प्रस्तुत गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्