ट्राफिक प्रहरीले सवारी साधनको चेकजाँच गर्न छाडेको छ । ट्राफिकले लाइसेन्स, बिलबुक, रोड परमिट हेर्न ठप्प पारेको छ । न ट्राफिकले छड्के अनुगमन नै गर्छ । दिँउसो होस् या राति ट्राफिकले अनुगमन गर्दैन् । कति सवारी धनीले बिलबुक, रोड परमिट, लाइसेन्स नै नबोकी सवारी साधन चलाएका हुन्छन्, त्यसलाई पनि कारबाही गरिँदैन् । सवारी धनीहरुले वर्षौंदेखि सरकारलाई कर तिरेको हुँदैन् । त्यो पनि अनुगमन हुँदैन् ।
सरकारले प्रत्येक ६ महिनामा जाँचपास, रोडपरमिट, प्रदुषणको राजश्व तिर्नुपर्ने प्रावधान बनाएको छ । तर, सवारी धनीले राजश्व तिर्दै तिर्दैनन् । त्यस्तै, बिलबुक र लाइसेन्स नवीकरण पनि गरिएको हुँदैन् । गाडीको अवस्था के छ त ? चल्न लायक छ कि छैन् ? अनुगमन गरिँदैन् । ट्राफिक प्रहरीले चेकिङ्गमा सुस्तता देखाउँदा राज्यलाई धेरै घाटा भएको छ ।
ट्राफिकले अनुगमनमा कडाइ गरेको भए वर्षौंदेखि सवारी धनीहरुले नतिरेको राजश्व तिर्थे । राज्यको ढुकुटीमा राजश्व आउँथ्यो । त्यसैगरी, ट्राफिकले कारबाही गर्दा पनि राजश्व उठ्थ्यो । अनुगमन नै छैन् अनि के–के राजश्व ? ट्राफिकले चेकिङ्ग नगर्दाको फाइदा यातायात व्यवसायी र सवारी चालकलाई मात्र भइरहेको छ । ट्राफिकले मापसे चेकजाँच गर्नमा पनि हेलचेक्य्राइँ गर्दै आएको छ ।
ट्राफिकले कतिको अनुगमन गरिरहेको छ ? हेर्न रत्नपार्क गए हुन्छ । २४ वर्ष कटेका निलो माइक्रोबस ट्राफिककै अगाडि निष्फिक्री गुडिरहेका छन् । निलो माइक्रोबस चालकले ट्राफिकलाई नै चुनौती दिइरहेका छन् । सरकारले २० वर्ष पुगेका सार्वजनिक यातायात हटाउने नीति लिएको छ । त्यस्ता सवारीबाट सरकारले राजश्व पनि लिँदैन् । निलो माइक्रोबसले विगत पाँच वर्षदेखि सरकारलाई एक रुपैयाँ पनि राजश्व तिरेको छैन् ।
ती सवारीको सबै कागजपत्र फेल छन् । सरकारको नीति नटेर्ने, राजश्व पनि नतिर्ने अनि यात्रु बोकेर पैसा कमाउने निलो माइक्रोबसलाई ट्राफिकले कारबाही गरेको छैन्, किन ? गम्भीर प्रश्न उठेको छ । आफ्नै आँखाअगाडि यस्ता गाडी गुड्दा पनि ट्राफिक हात बाँधेर बसेको छ । २३ वर्ष पुगेका ट्याक्सी, २६ वर्ष पुगेका बस, २९ वर्ष पुगेका ग्याँस टेम्पो पनि निर्वाध रुपमा हुँइकिरहेको छ ।
यी सवारी साधनलाई वर्षौंदेखि कर तिरेका छैनन् । यद्यपि, ट्राफिकले कागजात चेक गर्ने, त्यस्ता सवारीलाई कारबाही गर्ने कार्यमा चासो देखिएको छैन् । ट्राफिकले बाटोमा उभिनेबाहेक कुनै काम गरेको छैन् । बरु सडकमा गफ ठोकेर बस्छन् तर, सवारी साधनको अनुगमन गर्दैनन् । सरकारको नीतिलाई ट्राफिक प्रहरीले धोती लगाइदिएका छन् । ऐनकानुन कार्यान्वयन गर्नुपर्ने निकायलाई मतलब नै छैन् ।
कसैले प्रश्न गरिहाल्यो भने ट्राफिकले आफ्नो काम जाम खुलाउने मात्र हो भन्छन् । कागजपत्र चेकिङ्ग गर्ने काम आफ्नो नभएको भन्दै पन्छिन खोज्छन् । तर, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभाग सवारी साधनको कागजात चेकजाँचको काम ट्राफिकको भएको बताउँछ । २० वर्ष पुगेका सवारी साधन समात्ने काम ट्राफिकको भएको सरोकारवाला निकायको भनाइ छ ।
यातायात व्यवसायीहरुले ट्राफिक प्रमुख पोषणराज पोखरेललाई प्रभाव र दबाबमा पारेर २० वर्षे सवारी साधन हुँइकाइरहेका छन् । २० वर्षे सवारी साधनलाई ट्राफिकले नसमात्दा विभिन्न असर देखापरेका छन् । पहिलो त काठमाडौंमा बढ्दो प्रदुषण । थोत्रा गाडी धुँवाको मुस्लो उडाएर दौडिँदा पनि ट्राफिक टुलुटुलु हेरेर बस्छन् । प्रदुषणको कारणले सर्वसाधारणलाई श्वास फेर्नसमेत अप्ठेरो भएको अवस्था छ ।
दोस्रो हो ट्राफिक जाम । २० वर्षे गाडीका कारण अत्याधिक ट्राफिक जाम भएको छ । ट्राफिक व्यवस्थापन मिलाउन ट्राफिक प्रहरीलाई नै हम्मेहम्मे परेको छ । तेस्रो थोत्रा गाडीले राजधानीको सौन्दर्यतामा असर पारेको छ । काठमाडौं उपत्यका कुरुप बन्दै गएको छ । ट्राफिक प्रहरी ‘दिन कटाउने र माना पचाउने’ काम मात्रै गरिरहेका छन् । उनीहरु आफ्नो जिम्मेवारीबाट पन्छिएका छन् ।
आफूहरु जिम्मेवारीबाट भाग्दा राज्यलाई घाटा र आम नागरिकलाई सास्ती भएको उनीहरुले देखेका छैनन् । ऐनकानुन कार्यान्वयन गर्ने जिम्मेवारी आफ्नो हो भनेर ट्राफिकले मनन गर्नुपर्ने हो । राज्यले ट्राफिकलाई मासिक तलबभत्ता खुवाइरहेको छ । तर, ट्राफिकबाट राज्यले के उपलब्धि पायो ? राजश्व उठाउन सरकारका हरेक निकायले सहयोग गर्नुपर्छ । राजश्व नै उठेन् भने सरकारी खर्च धान्न सकिँदैन् ।
यो थाहा हुँदाहुँदैसमेत ट्राफिकले राजश्व उठाउनमा हेलचेक्य्राइँ गर्दै आएको छ । आफ्नै अगाडिबाट २० वर्षे गाडी धुँवाको मुस्लो फालेर दौडिँदासमेत ट्राफिक आँखा चिम्लेर बस्छ । २०७१ भदौ १९ गतेको मन्त्रिपरिषद्को बैठकले २० वर्षे गाडी हटाउने निर्णय गर्यो । २०७१ फागुन १८ गते सो निर्णय राजपत्रमा निकाल्यो । २०७२ चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले २०७३ फागुन १७ गते बागमतीबाट २० वर्ष पुगेका सवारी साधन हटाउने निर्णय गर्यो ।
त्यस्तै, २०७४ चैत १ गतेबाट देशैभरिबाट २० वर्षे सवारी साधन हटाउने भनिएको थियो । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले २० वर्षे गाडी ३५ दिनभित्र पत्रु गरिसक्नु भनि जेठ ७ गते सूचना जारी गर्यो । तर, अहिले पनि ती सवारी साधन मज्जाले सडकमा दौडिरहेका छन् । यसमा दोष कसको ? सिधा औंला ट्राफिकमाथि ठडिएको छ । सरकारले निर्णय गरेपछि कार्यान्वयन गर्नुपर्ने जिम्मा ट्राफिकको होइन् ?
ट्राफिक प्रहरीले जनताको तिरेको करबाट तलबभत्ता खाएका छन्, सेवासुविधा लिएका छन् तर, कामचाँहि यातायात व्यवसायीको हीतमा गर्दै आएका छन् । सरकारले २० वर्षे गाडीबाट कर लिन छोडिसकेको छ । त्यस्तै, सो गाडीले सरकारबाट पाउनुपर्ने सुविधा पनि पाउँदैनन् । ती गाडीको जाँचपास, रोडपरमिट, बिलबुक नवीकरण, नामसारी, बीमा केही पनि गर्दैन् ।
तर, ट्राफिकले ती सवारीलाई कारबाही नगर्दा सरकार असफल बनेको छ । सरकारलाई असहयोग गरेर ट्राफिक यातायात व्यवसायीको पक्षमा उभिएको छ । यी गाडीलाई कारबाही किन गरिएन् ? थुप्रै प्रश्न खडा भएका छन् । कतै आर्थिक चलखेल त भएको छैन् ? भनि आशंका गर्न थालिएको छ । सिसा फुटेका, सिट निस्किएका, ठोक्किएका गाडी गुडेको सर्वसाधारणले देख्छन् तर ट्राफिकले देख्दैन् ।
एउटा सरकारी निकायले अर्को सरकारी निकायलाई सहयोग नगर्ने हो भने जनताले सेवासुविधा पाउँछन् ? दुर्घटना कसरी कम हुन्छ ? शहर सुन्दर कसरी हुन्छ ? सरकार निरन्तर असफल हुँदै गर्दा यातायात व्यवसायी झनै शक्तिशाली बनेका छन् । उनीहरुम सरकारले आफ्नो केही बिगार्न सक्दैन् भन्ने मनोबल बढेको छ । ट्राफिकले अब कि २० वर्ष कटेका सवारी साधनलाई च्यापच्यापी समात्नुपर्यो ।
कि सरकारको निर्णय थाहा छैन् भनेर ट्राफिक प्रमुखले सर्वसाधारणलाई भन्नुपर्यो । ट्राफिक प्रहरी जिम्मेवार नहुँदा राज्यको ढुकुटीमा आउनुपर्ने अर्बौं रुपैयाँ राजश्व गुमेको छ । सरकारका निर्णयसमेत ओझेलमा परेको अवस्था छ । यातायात व्यवसायीले एउटा गाडीमा गरेको लगानी तीनदेखि पाँच वर्षमा उठाउँछन् । २० वर्षमा त करोडौं कमाइसक्छन् । त्यतिले पनि नपुगेर अझै हामी २० वर्षे गाडी चलाउँछौ भनेर सरकारलाई दादागिरी देखाइरहेका छन् ।
राजनीतिक पार्टीलाई चन्दा दिएर हुन्छ कि सरकारमा बसेकालाई किनेर उनीहरु सफल हुँदै आएका छन् । २० वर्षे गाडी गुडाउँदा दुर्घटना ह्वात्तै बढेको छ । आम सर्वसाधारणले अकालमा ज्यान गुमाउनुपरेको छ । यसको जिम्मा कसले लिने ? ट्राफिक प्रहरीले कि यातायात व्यवसायीले । आफ्नो फाइदाका लागि व्यवसायी थोत्रा गाडी चलाउने, ट्राफिक अनुगमन नगर्ने अनि सँधै मरिदिनुपर्ने सीधासाधी जनता ।
सर्वसाधारण ट्राफिक प्रमुखलाई सोध्छन्,‘२० वर्ष कटेका सवारी साधनको कागजात चेक गर्न मन्त्री आफैं सडकमा आउनुपर्ने हो ?’
अनुसा थापा
भक्तपुर
२० वर्ष कटेका सवारी साधन खुल्लमखुल्ला सडकमा हुँइकिदै, कारबाही गर्नुको साटो ट्राफिक प्रहरी टुलुटुलु हेर्दे !

FILE PHOTO