‍तीज पर्वमा पशुपतिनाथमा चार ठाउँबाट दर्शनको व्यवस्था

काठमाडौँ  – तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई चार ठाउँबाट दर्शन गराइने भएको छ ।

पशुपति क्षेत्र विकास कोषले यस वर्ष तीज पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि सहज बनाउन चार ठाउँबाट लाइनको व्यवस्था गर्न लागेको हो । कोटेश्वर–तीनकुने–सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने गरी व्यवस्थापन गरिँदैछ ।

दोस्रो मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने, तेस्रो गौशाला–पिङ्गलस्थान–पञ्चदेवल क्षेत्रबाट लाइन अघि बढ्ने गरी व्यवस्था हुँदैछ । चौथो लाइन गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गर्नेछ । मूल मन्दिर परिसरको तस्बिर, भिडियो खिच्न मनाही गरिएको छ । नियम उल्लङ्घन गरेमा नगद जरिबानासहित कारबाही गर्न लागिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए ।

कोषले तीजको दिन असोज १ गते बिहान ६ बजेपछि पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न नदिने भएको छ । पशुपतिनाथका नित्य दर्शनार्थीलाई त्यसअघि नै दर्शन गरेर फर्कन पनि कोषले आह्वान गरेको छ ।

कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले सुरक्षा व्यवस्थासहित आवश्यक सबै तयारी गरिएको बताए । पाँच दिने तीज पर्व भोलिदेखि शुरु हुन्छ । तीजको पहिलो दिन भोलि दर खाने कार्यक्रम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्