चितवन– प्रथम जननिर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद (विपी) कोइराला चितवन आउँदा बस्ने गरेको घरको कोठा चार दशकदेखि उहाँकै नाममा खाली छ ।
भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित गौरीदेवी प्रधानको घरको उक्त कोठा अहिले पनि उहाँकै सम्झनामा खाली राखिएको छ । त्यतिबेला विपी सुत्ने काठको खाट सफा तन्नाले ढाकेर राखिएको छ ।
“घर बनेपछि यो कोठामा विपी कोइरालाबाहेक अहिलेसम्म कोही पनि सुतेको छैन”, ९० वर्षीया गौरीदेवीले भन्नुभयो । उहाँका श्रीमान स्व श्यामकृष्ण प्रधानसँग विपीको निकट सम्बन्धका कारण परिवारको एक सदस्यका रूपमा प्रधान परिवारले उहाँलाई लिने गरेको थियो ।
विसं २००६ मा बन्दीपुरमा प्रधानको विपीसँग चिनजान भएपछि उक्त सम्बन्ध बाँचुञ्जेलसम्म रहिरह्यो । गौरीदेवीले भन्नुभयो, “अरु नेता आउँदा पनि विपीको कोठामा कसैलाई पनि बस्न दिइएन ।” कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवालगायत नेता आउँदा पनि कोहीलाई माथिल्लो तला र कोहीलाई भुइँ तलामा सुत्ने व्यवस्था गरिएको उहाँ बताउनुहुन्छ ।
“घर बनेदेखि विपी यही घरमा बस्नुभएको हो”, गौरीदेवीले भन्नुभयो । छतमा मन्दिर भएको घरको अगाडितर्फ दुईतिर ठूला झ्याल भएको पहिलो तलाको खुला कोठामा विपी सुतेको खाट अझै देख्न सकिन्छ । रातो रङको यो घर विसं २०२६ मा निर्माण भएको हो ।
घरको पहिलो तलामा आराम गरिरहनुभएकी प्रधानले भन्नुभयो, “विपीबाबुले गिरिजाबाबुलाई भनेको मलाई अहिले पनि सम्झना छ । ‘गिरिजा चिन्यौँ, घरको परिवारजस्तै हो, जहिले पनि यही आएर बस्नु है ।” प्रधानको मामाको छोरा धर्मभक्त माथेमालाई राणाले मारेकाले उहाँमा क्रान्तिकारी जोश भएकाले पनि विपीप्रतिको श्रद्धा बढी भएको बताउनुभयो ।
विपी घरमा आएपछि सुरक्षाकर्मीले घरबाहिर घेर्ने गर्थ्यो । कहिले के हुन्छ थाहा हुँदैनथ्यो । त्यो बेला सम्झँदै उहाँले भन्नुभयो, “यही घरमा बसेर विपीबाबुले राजनीतिक योजना पनि बनाउनुहुन्थ्यो ।” विपी कतिपटक घरमा आउनुभयो उहाँलाई यकिन सम्झना छैन ।
उहाँले भन्नुभयो, “कति आउनुभयो आउनुभयो । चितवनमा आउँदा होस् वा पूर्वपश्चिम अन्य जिल्लामा जाँदा यही बस्नुहुन्थ्यो ।” सधैँ गाडीमा तेल श्यामकृष्णले भरिदिनुहुन्थ्यो ।
सादा खाना विपी बाबुले खाने गरेको प्रधान बताउनुहुन्छ । उहाँले भन्नुभयो, “माछामासु खाएको मलाई थाहा छैन, दही, दूध, सादा खाना खानुहुन्थ्यो । मैले सोध्ने गर्थेँ, “विपीबाबु के खाने ? तपाईँले जे पकाउनुहुन्छ, त्यही खान्छु भन्नुहुन्थ्यो ।” विपीले थोरै खाना मीठो गरी खाने गरेको उहाँलाई सम्झना छ ।
जिल्लाभर जहाँ घुमे पनि बेलुका सुत्न यही घरमा आउने गरेको उहाँले स्मरण गर्नुभयो । साँझ विपी भन्नुहुन्थ्यो, “जहाँ घुमे पनि आफ्नै घरजस्तो लागेर यही आउन मन लाग्छ ।” विपी हुँदै गर्दा विवाहको घर जस्तै हुने गरेको उहाँले बताउनुभयो । थोरै खाने चिटिक्क परेर हिँड्नुपर्ने विपीको स्वभाव थियो ।
प्रधानले भन्नुभयो, “मेरो कान्छी छोरी नम्रतालाई ‘छोरी मेरो कपडामा आइरन गदिदेउ’ भन्नुहुन्थ्यो र चिटिक्क परेर हिँड्नुहुन्थ्यो ।” विपी बिरामी परेपछि श्यामकृष्णको परिवार निकै चिन्तित बन्यो ।
तनहुँ र चितवनमा महिला सङ्घको स्थापना गर्नुभएकी प्रधानले विपीको उपचारका लागि नारायणगढ बजारमा आर्थिक सङ्कलनसमेत गर्नुभयो । उहाँले भन्नुभयो, “मैले बजार घुमेर आर्थिक सङ्कलन गरेँ, म आफूले त दिने नै भएँ, अरुले पनि दिए ।”
विपीसँगै कांग्रेसका शीर्षनेताको बस्ने थलो यही घर हो । पछिल्ला वर्षहरूमा नेताहरू त्यति पुग्दैनन् । विपीको देहवसानपछि देश उँभो लाग्न नसकेको प्रधानको निष्कर्ष छ । उहाँले भन्नुभयो, “कसैलाई पनि कांग्रेस बन्न उत्साह छैन ।” साराका सारा विदेश जान थालेकामा चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो, “विपी भएको भए, साराका सारा कहाँ विदेश जान्थे, यही काम पाउँथे । विपीजस्तो नेता न कांग्रेसले जन्मायो, न देशले जन्मायो ?”
ससुरा लालप्रसाद खरदार जागिर छाडेर पार्टीमा लागेको भए पनि पार्टीले अहिले आफ्नो घर बिर्सिएकामा उहाँलाई चिन्ता छ । गौरीदेवीलाई विपी बस्ने त्यो कोठामा जाँदा अहिले पनि बिपीको झल्को आउँछ । राति अबेर सुत्ने कोइरालालाई बिहानीपख चिया लिएर गएको स्मरण उहाँले अहिले पनि ताजै छ ।
गौरीदेवीका कान्छा छोरा सुवोध प्रधानलाई बाल मानसपटलदेखि विपीको स्मरण ताजा छ । विपी चितवन आउँदै गर्दा बुवा श्यामकृष्णले ल्याण्डओभर गाडीमा विपीसँग राखेर गाउँ डुलाएको उहाँ सम्झनुहुन्छ । गाडी पछिपछि नेविसङ्घका विद्यार्थीहरू हुने भए पनि के हुन्छ भन्ने भर थिएन । ठाउँ–ठाउँमा प्रहरीले रोकेर सोधपुछ गर्थ्यो ।
बाह्र–तेह्र वर्षको कलिलो उमेरको विगतलाई सम्झँदै उहाँले भन्नुभयो, “विपी हाम्रो परिवारको सदस्यजस्तै हुनुहुन्थ्यो । उहाँको निधन हुँदा मेरो दाई सुवास प्रधानले कपाल खौरिनुभएको थियो ।”
आफ्नो घरमा विपी आउँदा घरवरिपरि खाकीका कपडा लगाएर प्रहरीले घेरेको उहाँलाई ताजै छ । उहाँले भन्नुभयो, “म घरको कौशीमा लुकेर खाकी लगाएका प्रहरी हेर्थेँ ।” सबैले विपीलाई निकै मान्ने आफूले पाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सबैले देवताजस्तै गरी सम्मान गर्थेँ ।”
नेपाल टेलिभिजनबाट साभार