काठमाडौँ – पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर आजमले एसिया कपमा नेपालसँग खेल्नका लागि आतुर रहेकाे बताएका छन् ।
खेलअघिकाे प्रिम्याच कन्फ्रेसमा पाकिस्तानी कप्तान आजमले नेपालसँग खेल्न आतुर रहेकाे बताउँदै त्याे राम्राे प्रतियाेगिता हुने बताएका हुन् । एसिया कपमा छनाेट भएकाेमा नेपाललाई बधाई पनि दिँदै उनले भने, ‘एसिया कपमा छनोट भएकोमा नेपाललाई बधाई दिन चाहन्छु । हामी नेपालसँग खेल्न आतुर छौँ र याे राम्राे प्रतियाेगिता हुनेमा म विश्वस्त छु ।’
एकदिवसीय वरीयतामा शीर्ष स्थानमा रहेकाे टाेलीका लागि थप दबाब छ कि छैन भन्नेबारे कप्तान बाबरले भने, ‘म दबाब छ भन्न चाहन्न । हामी थप आत्मविश्वासका साथ याे प्रतियोगिता खेल्छाैँ । यस टोलीले पछिल्ला केही वर्षहरूमा धेरै मेहनत र प्रयास गरेको छ र हामीले शीर्ष स्थान हासिल गर्नु यसको प्रमाण हो ।’
‘हामी नेपालसँगको भोलिको खेलमा केन्द्रित छौँ । नेपालसँग राम्रा खेलाडीहरू छन्, त्यसैले हामी उनीहरूलाई हल्का रूपमा लिइरहेका छैनौँ र हामी उत्कृष्ट क्रिकेट खेल्ने प्रयास गर्नेछौँ’, बाबरले भने ।
१६ औँ संस्करणकाे एसिया कप भोलि बुधवारदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा नेपालले मुल्तान मैदानमा पाकिस्तानसँग खेल्दैछ । दोस्रो खेलमा नेपालले १८ गते सोमवार भारतसँग खेल्नेछ । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक भारत र पाकिस्तानसँग खेल्न लागेको हो । भारत एकदिवसीय वरीयतामा तेस्रो स्थानमा छ । नेपाल भने वरीयतामा १५ औँ स्थानमा छ । भोलिदेखि शुरु हुने एसिया कप यही ३१ गतेसम्म पाकिस्तान र श्रीलङ्कामा हुनेछ ।