चितवन – चितवनको मुग्लिन नजिक सुख्खा पहिरो खसेका कारण नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार इच्छाकामना गाउँपालिका-६ टोपेखोला नजिकै सोमबार राति सवा ८ बजेतिर पहिरो झरेर सडक दुईतर्फी नै अवरुद्ध भएको हो ।
ठूलो पहिरो झरेकाले पन्छाउन समय लाग्ने प्रहरीको भनाइ छ । सडक डिभिजन कार्यालय भरतपुरले पहिरो गएको ठाउँमा डोजर पठाएको र पहिरो पन्छाउन सुरु गरेको जनाएको छ । सडक अवरुद्ध हुँदा नारायणगढतर्फ आउने र मुग्लिनतर्फ जाने सवारी साधनहरु सडकमै रोकिएका छन् ।