‘आमाले गर्ने खेति तरिका उहिले त परम्परागत लाग्थ्यो तर अहिले बुझ्दै जाँदा बुद्दीमतापुर्ण रहेछन् भन्ने लाग्छ’

मेरो अधिकांस बाल्यकाल दाङ जिल्लाको उपत्यकामा व्यतित भयो । हुन त बुबाको जागिरको सिलसिलामा पहिले उहाँसँगै हामी पनि ठाउँ ठाउँ बसाई सरि बस्नु पर्थ्यो तर विसं २०५३ ताका उहाँले जागिरबाट अवकास लिए पछि हामी सबै दाङमा स्थायी रुपमा बसोबास गर्न थालेका थियौँ । हामी बस्ने तिर उतिबेला सिचाईको सुबिधा थिएन । त्यही वर्षे पानीको भरमा खेति हुन्थ्यो । कुलोहरुमा पनि वर्षाताका मात्र पानी बग्थे । चैत्र बैषाख तिर त ईनारको पानी पनि सुक्ने भएकोले खानलाई नै पनि दुख हुन्थ्यो । त्यसैले खेति पाती अनि तरकारीको जोहो हिउँद र वर्षा ताका गर्नु पर्थ्यो । हाम्रो आमा एकदमै मेहनति हुनु हुन्थ्यो । घरवरिपरी तरकारी प्रशस्त लगाउनु हुन्थ्यो । आमाले गर्ने खेति तरिका उहिले त परम्परागत लाग्थ्यो तर अहिले बुझ्दै जाँदा बुद्दीमतापुर्ण रहेछन् भन्ने लाग्छ । बर्ष भरी घर परिवारलाई पुग्ने अन्न र तरकारी फलाउनु हुन्थ्यो । घर भरी धान, गहुँ, तोरीका भकारी हुन्थे ।

हिँउदमा आलुसँगै मुला छरिदिनु हुन्थ्यो । मुला पनि, आलु पनि टन्नै फल्थे । आलुलाई घरमाथि आँटीमा लडाईदिन्थ्यौँ । अनि मुलाको पातको गुन्द्रुक बनाउथ्यौँ र मुलाको जरालाई काटेर सुकाएर चाना बनाउथ्यौँ। तरकारी नपाउने सिजनमा यो गुन्द्रुकको झोल यति मिठो हुन्थ्यो कि अहिले नि सम्झिदा मुखै रसाउँछ । अनि मुलाको चाना र आलुको झोल पनि त्यत्तिको मिठो हुन्छ तर यो मुलाको चाना त बजारमा किन्न न पाउदैन, कति भयो खान नपाएको ।

बर्षे सिजनमा पिडालु पनि टनक्कै हुन्थे बारी भरी । पिडालुको पातलाई बेरेर तामाको ताउलामा बफाएर घाममा सुकाएर पाप्रो बनाउनु हुन्थ्यो । अनि त्यही कर्कलोको डाँठलाई लामो गरि चिरेर घाममा सुकाउने र सुके पछि चुल्ठो जस्तो बाटेर राख्नु हुन्थ्यो । यि सबै पछि सुख्खा समयका लागि तरकारीको जोहो थियो । मेरो वसले भ्याए त यिनै पाप्रा, सुकाएको साग, मुलाका चाना पकाएर खुवाउने खाजा घर र यिनै वस्तु उत्पादन गर्ने फ्याक्ट्री पनि खोलौ कि भन्ने पनि लाग्छ तर के गर्ने यस्ता व्यवसाय गरी खाने आँट नै आउँदैन ।

आलु रोप्दा मकैका ढोडहरुले छापो लगाईदिनु हुन्थ्यो । त्यो छापो किन लगाएको भनेर त्यतिबेला सोधिएन पनि अहिले आएर थाहा भयो कि झारपात नउम्रियोस् र माटोमा चिस्यान रहिरहोस् भनेर पो रहेछ ।

मकैबारीमा पनि भटमास, बोडी, फर्सी र काक्रा मिसाएर रोप्नु हुन्थ्यो । काक्रालाई र बोडीलाई मकै थाक्रा भै हाल्यो । फर्सी भूईमै फैलिएर घाँस उम्रन नदिने । कति बुद्दि आएको यस्तो कुरामा । काक्रा त यति खाईन्थ्यो कि अहिले सय रुपिया किलो किन्नु पर्दा पैसै खाएका रहेछौँ उतिबेला भन्ने लाग्छ । बोडी सुकेपछि त्यसको दाल यति स्वादिलो हुन्थेन, खोई अहिले त्यो बोडी किन्न पनि पाउँदैन । फलेका फर्सी त छाना भरी भन्डारण गरेर राखिन्थ्यो, त्यो पनि पछि खाने भनेर । कुपिन्डो त्यस्तै फल्ने । घिरौला त यति फलेको कि छरछिमेकलाई बाँडेर नसकिएर गाई गोरुलाई खुवाईन्थ्यो ।

अनि तोरीको सिजनमा बारीमा बाक्लो भएको तोरी निकालेर त्यसलाई बफाएर घाममा सुकाएर राख्थ्यौँ । अनि यो वाला सुकाएको तोरीको सागको झोल पनि कम्ता मिठो हुन्न । तोरीसँगै केराउ पनि मिश्रीत गरी छर्नु हुन्थ्यो । वास्तवमा केराउ कोशेबाली हो र यसले हावाबाट नाईट्रोजन लिएर माटोमा पुर्याँउछ त्यसैले अकोशे बालीसँग मिसाएर लगाउनु पर्छ भन्ने कुरा पछि पढेर थाहा भयो तर आमालाई त त्योकुरा नपढेरै थाहा रहेछ । घरको लागि खाने तेल आफ्नै बारीको तोरीले पुग्थ्यो । अँ.., अनि तोरी पेलाउन चाहीँ परै १ घन्टा हिडेर मिलमा जानु पर्थ्यो । पिना पनि ल्याउथ्यौँ, त्यही पिना कपाल नुहाउन प्रयोग हुन्थ्यो ।

हाम्रो घरमा चार पाँच मौरीका घार थिए । मलाई याद छ माटो मुछेर मौरीको घर बनाएको । गोबर, माटो, धानको भुस मिसाएर माटो बनाउथ्यौँ । तिनै माटोको घारमा मौरी बस्न आउथे। एक दुई चोटी त अन्तैबाट मौरी टुक्रिएर एक बथान हाम्रो बगैचाको एउटा रुखमा बसेका रहेछन् । बुबाले ती मौरी सबैलाई सोहरेर ल्याएर हामीले बनाएको नयाँ घारमा राखिदिनु भयो र बस्यो पनि । बुबाले मौरी काट्ने दिन मह खान पाईन्छ भनेर कम्ता खुसि लाग्थेन । तोरीहुने सिजनमा सबै घारमा मौरी हुन्थे तर सुख्खा सिजनमा त घारै छोडेर पनि जान्थे । मौरी घार छोडेको दिन कति नरमाईलो लाग्थ्यो । एक रात त मौरीको घारै चोर्ने मान्छे पो आएछन् । घार बाँधेको डोरी काट्न लाग्दा थाहा पाएर पो, हामी भित्रबाट चोर चोर भनेर चिच्याएर भागे । नत्र घारै टप्पाउने वाला रहेछन् । मौरीलाई तोरीको फूल अनि तोरीको फूललाई पराग सेचन, भएन त एक अर्काको सहयोगी । लोभी त हामी मानिस पो त मौरीलाई खानै नदिई सबै मह काडी खाने ।

उता खेतमा धान काट्नु १५ दिन अगावै मसुरो या आलस खेतमा छर्केर छोड्नु हुन्थ्यो अनि धान काट्दै जाने यि बाली पनि उम्रदै गर्थ्यो । यो तरिका कति वैज्ञानिक रहेछ भने खेतमा चिस्यान हुदै बिउ छर्यो मजाले उम्रन्छ अनि जोत्नु पनि परेन । अनि धान काट्दा काट्दै अर्को बाली पनि हुर्कि सक्ने। हामी पढ्नेले जिरो टिलेज भनेर पढियो आमाहरुले जिरो टिलेज प्रविधी प्रयोग गरी जीवन चलाउनु भयो । यसरी छरिएका मसुरो या आलसको उत्पादन राम्रै भएको जस्तो लाग्छ ।

बर्षाताका धानको व्याड राख्नेबेला असुरोको पात जम्मै काटेर माटोमा मिलाउनु हुन्थ्यो । यो कुरा सँस्कार होला भन्ने ठान्थे तर बल्ल कुरा बुझेँ कि असुरोमा त माटोलाई चाहिने खाद्द तत्व प्रशस्त हुने रहेछ मलको लागि पो असुराका पात राख्नु भएको रहेछ । ‌ओहो… धान रोप्ने बेलाको याद त साह्रै दुखत छ । साढे एक बिघा जग्गामा हामी ४ परिवार र एक हलीले धान रोप्नु पर्थ्यो । छरछिमेकबाट परिम गरेर काम लिने र सघाउने गरिन्थ्यो । करिब एक महिना त लाग्थ्यो होला आफ्नो र छिमेकको खेतमा धान रोपेर सकाउन । महिना भरी खुट्टा पानीमा डुबेर ढुसीले छुन्थ्यो । यो ढुसी फेरी अति बैमानी खुट्टाका औलाका काप जम्मै चिलाउने । उतीबेला नुन र चुक लगाउने बाहेक केही उपचार थिएन । कन्याएर घाउ भएको खुट्टामा नुन चुक लगाउँदा कस्तो हुन्थ्यो होला । अहिले त त्यो ढुसी उपचार गर्ने मलम पाईन्छ रे । तर जब धान रोपिसके पछि पानीको रेखदेख गर्न खेततिर गईन्थ्यो अनि सप्रेको धान देखिन्थ्यो सबै दुख बिर्सन्थ्यो ।

धान काट्नेबेला फेरी अर्कै रौनक हुन्थ्यो । बुबाले हसिँयाहरु आरनमा लगेर उदाएर टिलिक्क टल्काएर ल्याउनु हुन्थ्यो । हामी चाहीँ धान काट्ने बेला धानका फट्याँग्रा छोप्ने तयारी गरी बस्थ्यौ । माछा राख्ने पिरिङ्गोको तयारी । फट्याँग्रा नभागोस् भनेर खेतको चारै तिरबाट काट्दै आउने अनि बिचमा ल्याउने, टिप्न सजिलो पनि हुने, टिप्दै पिरिँगोमा राख्दै । भरे तेलमा परक्क भुटेर तरकारी खाने । धान काट्न सघाउन आउनु भएको आफन्ती दिदीले पहिले कहिल्यै नखानु भएको रहेछ । हामीसँग खानु भयो त पल्किनु पो भयो मीठो भएर । त्यस पछि त उहाँलाई पनि फट्याँग्रा खाने लत बसिगो त। दिदीसँग आउनु भएको उहाँको साथीलाई पनि खुब मन परेछ तर कसो गर्दा फट्याँग्राको खुट्टो घाँटीमा अड्कीएछ त्यस दिन देखि खान नै तर्सिनु भयो । अनि धान काट्ने ताका चाडबाडको लहर पनि चलिसकेको हुन्छ । हामी चाहीँ छिटो धान काटीवरी दशैमा मामाघर गएर टीभी हेर्ने रहरले छिटो छिटो धान काट्न कसिन्थ्यौँ ।

धान काटेर कुन्यू लगाई सके पछि पनि धान मुठा पार्ने, धान झाट्ने, सुकाउने काम त्यतिकै । धान राख्ने दाई लगाउने ठाउँलाई खला भन्छौँ हामी । घरदेखि नजिकै थियो हाम्रो खला । धान झाट्ने र दाई लगाउने काम रातभरी हुन्थ्यो । उती बेला बिजुली बत्ती थिएन लाल्टिनको बत्तीमा काम गर्थेम। झाटेको धान कसैले चोरेर लैजाला भनेर उतै खला तिरै पाल टाँगेर सुत्थिम् सबै जना। यसरी परिवारका सबै सदस्य मिली जुली काम गर्दा पारिवारिक बोन्डिँग थियो । अहिले क्याम्पीँग गर्न बाहिर जानु पर्छ उतिबेला हाम्रो क्याम्पीँग तिनै खलामा हुन्थ्यो । दाई लगाएको परालमा हामी जम्पिँग गर्थेम् कस्तो रमाईलो हुन्थ्यो । अहिले याद गर्दा पनि उत्तिकै रमाईलो लाग्छ । तर अपसोच मेरा छोराछोरीले ती अनुभवहरुबाट, ती पलहरुबाट बन्चित हुनु परेको छ ।

आमा र बुबाले जानेका यि र यस्ता प्रविधीहरु अहिले आएर पो थाहा भयो कति वैज्ञानिक रहेछन् भनेर तर आधुनिक खेति प्रवर्धनका नाममा र उपयुक्त अभिलेखिकरण र जागरणको अभावमा हाम्रा पहिले देखि गरिदै आएका यस्ता तरिकाहरु लोप नहोउन् ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्