काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले डेङ्गी सङ्क्रमण बढ्दै गएपछि सबै अस्पताललाई डेङ्गी सङ्क्रमणको उपचार प्रभावकारी गर्न निर्देशन दिएको छ । महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले दैनिक डेङ्गी सङ्क्रमण बढिरहेकाले सङ्घीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आवश्यकतानुसार ‘ज्वरो क्लिनिक’ सञ्चालन गर्न आग्रह गर्नुभएको छ ।
उहाँले अस्पतालमा डेङ्गी रोगको चापका आधारमा ज्वरोको स्क्रिनिङका लागि ज्वरो क्लिनिकल सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार सङ्क्रमण ७५ जिल्लामा फैलिएको छ । सबैभन्दा बढी सुनसरी जिल्लामा सङ्क्रमण देखिएको छ । महाशाखाका निर्देशक डा मरासिनीले डेङ्गी रोगको सही निदान र उपचार व्यवस्थापन गर्नसमेत अस्पताललाई निर्देशन दिनुभएको छ ।
डेङ्गी रोगको निदान तथा उपचार व्यवस्थापनका लागि राष्ट्रिय डेङ्गी रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापन निर्देशिकाअनुसार गर्न, स्वास्थ्य सेवा विभागबाट जारी गरिएको डेङ्गी रोकथाम तथा नियन्त्रण कार्ययोजनाअुनसार कार्य गर्न र डेङ्गी रोगको निदानका लागि आवश्यक किटको सुनिश्चितसमेत गर्न अस्पताललाई भनिएको छ ।
महाशाखाले अहिलेको अवस्थामा डेङ्गी सङ्क्रमण बढ्दै गए भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ ।
नेपाल टेलिभिजन