सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ निष्काशन तथा बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन !

काठमाडौँ – सन नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि आज देखि आईपीओ निष्काशन गर्दैछ। इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

इन्स्योरेन्सले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

इन्स्योरेन्सले सोमध्ये ९ लाख ६० हजार कित्ता शेयर प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। सोपश्चात बाँकी भएको शेयरमा ४ लाख ८० हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ भने ४ लाख ८० हजार कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित राखिएको छ। सर्वसाधारणले अंकित मूल्यमा १३९ प्रतिशत रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा बाँकी रहेको ७६ लाख ८० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

सो आईपीओमा लगानीकर्ताले भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि भर्दा १४ गतेसम्म लम्बिनेछ। इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयरएनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले इन्स्योरेन्स वित्तीय दायित्व बहन गर्न सक्षम रहेको औषतस्तरको सुरक्षित कम्पनी रहेको संकेत गर्दछ। इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो शेयर’ सफ्टवेयरबाट आवेदन दिन सक्नेछन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्