संसदको अवरोध खुलाउन दलहरूसँग छलफल गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौँ – प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलले गरिरहेको संसद अवरोध खुलाउनेबारे सत्तारूढ दलहरूबीच छलफल भएको छ। संसद लामो समयदेखि अवरोध भएपछि सत्ता गठबन्धन दलका शीर्ष नेताहरू बुधबार बिहान छलफलमा जुटेका हुन्।

छलफलमा संसद सुचारू ‍गर्नेबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए। संसदको अवरोध हटाएर सुचारू गर्न दलहरूसँगको संवादलाई तीव्र बनाउने निर्णय भएको शर्माले बताए। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए।

त्रिभुवन विमानस्थलबाट बरामद भएको सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमाले लगातार संसद अवरोध गर्दै आइरहेको छ। सत्ता गठनबन्धले भने यस प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक नरहेको निष्कर्ष निकालिसकेको छ।

सत्ता गठबन्धनको सोमबारको बैठकले सुन प्रकरणमा सिआइबीले गरेको अनुसन्धान प्रभावित हुने भन्दै उच्चस्तरीय छानबिन समिति नबनाउने निर्णय गरेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्