प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको ध्यान सत्तातिर नरहेको बताउनुभएको छ ।
सुन तस्करीको हल्ला चलाएर एमाले अहिले सत्तामोह, सत्तालोलुप्तातिर लागेको भन्नेकुरा सत्य नभएको ओलीको स्पष्टीकरण थियो । आईतवार पार्टी केन्द्रिय कार्यालय, च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले आफ्नो पार्टीलाई अहिले सत्तातिर हेर्नु नभएको बताउनु भयो । अध्यक्ष ओलीले आफ्नो पार्टीले सत्तातिर नहेरेपनि सरकारलाई जेपनि गर्न भने नदिने चेतावनी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘यो एमाले सरकारमा जाने दाउ त होइन ? यो सुन तस्करीको हल्ला चलाएर एमाले सरकारमा जान खोजेको त होइन भन्ने खालको कुराहरु पनि आउन सक्छन् । तर नेकपा एमालेलाई सरकारमा रुचि होइन । चिन्ता सरकारको होइन, देशको हो चिन्ता । देशको अर्थतन्त्रको हो चिन्ता । जनताको दैनिकीको कुन अवस्थामा देश गइराखेको छ, कस्तो अवस्थामा पुगिराखेको छ ? उद्योगधन्दा के भइराखेको छ ? अव म स्पष्ट गर्न चाहन्छु–एमालेलाई अहिले सत्तामोह, सत्ता लोलुपता, त्यतापटि सत्तातिर हामीले हेरेका छैनौं । हामीलाई हेर्नुपनि छैन । तर यसको अर्थ हामीले हेरेको छैनौं भनेपछि सरकारले जे गरेपछि हुन्छ, ढुक्क रहेछ भन्ने होइन । यो पनि गर्न सरकार पाउँदैन । ’
अध्यक्ष ओलीले निर्माण व्यवसायीहरुलाई गिरफ्तार गरेको भन्दै सरकारप्रति आक्रोश समेत व्यक्त गर्नुभयो । अफ्ठ्यारोमा परेका निर्माण व्यवसायीहरुलाई वार्ताद्वारा उनीहरुको समस्या समाधान गर्नुको साटो सरकारले उनीहरुलाई घाँटी थिचेर मार्ने प्रयास गरिरहेको ओलीको जिकिर थियो । उहाँले सरकारले नागरिकका कुनैपनि समस्याको सुनुवाई समेत नगरेको गुनासो गर्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘आज निर्माण व्यवसायीहरु गिरफ्तार गरिन्छन् । उनीहरुका भनाई कसैले सुन्दैन । किनभने निर्माण व्यवसायीहरु सडकमा आउनुपर्ने अवस्था सरकारले बनाएको हो । र, निर्माण व्यवसाय जब चलेन, त्यसपछि पहिले त हार्डवेयर पसलहरु बन्द । यसको कारोबार बन्द । निर्माण व्यवसाय ठप्प भएपछि । मजदुरहरुले जब पाएनन् । त्यसपछि सिमेन्ट, रड, इटा, बालुवा, गिटी अरु कुनै पनि चिजको कारोबार हुने कुरा भएन । अरु हार्डवेयरका सबै कामहरु बन्द हुने भए । यस्तो खालको स्थिति बन्छ । त्यसको चेन अफ इफेक्ट विकास, निर्माणमा प्रतिकुल असर पार्ने मात्रै होइन ।
रोजगारीदेखि लिएर सम्पूर्ण आर्थिक क्रियाकलापका प्रतिकुल असर पर्छ । अत्यन्तै गम्भिर असर पर्छ । त्यो कुरा ध्यान दिनुपर्दैन, त्यो कुरा सुन्नुपर्दैैन ? तत्काल त्यो कुरा उहाँहरुलाई बोलाएर वार्ता गरेर त्यो समस्या समाधान गर्नुपदैन ? अनि उल्टै उहाँहरुले पाउनुपर्ने रकम पाउनुभएको छैन । व्यवसायीहरुलाई सहयोग गर्नुको साटो सरकार घाँटी निचोर्छ । ज्यादतिपूर्ण ढंगले, ज्यादति एक ठाउँमा मात्रै होइन ।’
अध्यक्ष ओलीले सरकार आफैँले संसद चल्न नदिएको समेत दोहो¥याउनु भयो । संसद अवरोध हुन नहुने भएपनि सरकार आफैँले त्यस्तो खालको परिस्थिति निर्माण गरेको उहाँको तर्क थियो ।