प्रचण्डप्रति उपाध्यक्ष नेम्वाङको कटाक्षः एमालेले शर्तबन्दी गर्दैन

File Photo

काठमाडाैं – नेकपा (एमाले) का उपाध्यक्ष सुवाषचन्द्र नेम्वाङले कोशी प्रदेशको नाम परिवर्तन गर्नका लागि पार्टीले कुनै शर्तबन्दी नगर्ने बताउनुभएको छ ।

बिहीवार २९ औँ विश्व आदिवासी दिवसको अवसरमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले च्यासलमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष नेम्वाङले कोशी प्रदेशको नाम परिवर्तनमा एमालेको कुनै शर्तबन्दी नहुने बताउनुभएको हो । बुधवार प्रधानमन्त्री पुष्ककमल दाहालले आदिवासी जनजातिको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कोशी प्रदेशको नाम परिवर्तन्का लागि २०८४ सालमा निर्वाचन जिताए पहिचानको आधारमा प्रदेशको नामकारण गर्ने उद्घोष गर्नुभएको थियो । प्रधानमन्त्रीको सोही अभिव्यक्तिलाई लिएर कोही प्रदेशको नाम परिवर्तनका लागि एमालेले शर्तबन्दी नगर्ने बताउनुभएको हो । उहाँले एमाले देशको विविध जाति, भाषा, धर्म र संस्कृतिका जनताका हीतमा सधैँभरी दृढतापूर्वक उभिने बताउनु भयो । उहाँले एमालेको नेतृत्वमा देशमा धर्म निरपेक्षता घोषणा भएको र आइएलओ महासन्धिपनि आफूहरुकै नेतृत्वमा नेपालमा अनुमोदन भएको उल्लेख गर्नुभयो । उहाँले आफूहरुकै नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समावेशितासहितको समाजवादउन्मुख संविधान जारी भएको भन्दै यसबाट पनि एमाले आदिवासी जनताको पक्षमा रहेको स्पष्ट हुने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘हिजो अस्ति भर्खरै कोशी प्रदेशको सन्दर्भलाई लिएर होला । एकजना मित्रले भन्नुभयो, नाम बिर्सिएँ मैले । म नाम अलिक बिर्सिन्छु । अर्को पटक ०८४ मा हामीलाई भोट हालेर जिताउनु भयो भने म यो कोशि प्रदेशको नाम नै फेरिदिन्छु भनेर उहाँले भनेको मैले कताकता पढेको जस्तो लाग्यो । झलझलि अनुहार याद छ, नामचाहीँ मैले बिर्सें । हामी त्यसरी शर्तबन्दी गर्दैनौँ । नेकपा(एमाले) शर्तबन्दी गर्दैन । यो देशका विविध जाति, भाषा, धर्म, संस्कृतिका जनताका हितमा नेकपा(एमाले) जहिलेसुकै दृढतापूर्वक उभिएको छ । आउने दिनहरुमा पनि दृढतापूर्वक उभिन्छ । यसले आफ्नो व्यवहारबाट, काम, कारबाहीबाट यो कुरा स्थापित गरेको छ । धर्म निरपेक्षता कसको नेतृत्वमा घोषणा भयो ? आइएलओ महासन्धि कसको नेतृत्वमा नेपालले त्यसलाई अनुमोदन ग¥यो ? आदिवासी जनजाति सम्बन्धी घोषणापत्रमा कसको भुमिका छ ? हाम्रो नेतृत्व, पहल र प्रयासमा संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समावेशितासहितको समाजवादउन्मुख संविधान जारी भयो । अब हामीले अरु धेरै भनिरहनु पर्छ र ? त्यसलाई कार्यान्वयन गर्न हामी लाग्यौँ ।’

उहाँले राज्यको तर्फबाट फूलपाति र शिवरात्री पर्व मनाएजस्तै अन्य धर्मावलम्वीहरुले मनाउने चाडपर्वहरुलाई पनि राष्ट्रिय चाडपर्वको रुपमा मनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले यसको निम्ति एमालेले पहल र नेतृत्व लिनुपर्ने बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्