कञ्चनपुर – सुदूरपश्चिमेलीहरूको महान पर्व गौराको उत्तम साइत भदौँ ७ गते नै रहेको ज्योतिष विज्ञहरुको भनाइ छ । अठोला पञ्चाङ्गले सोमबार प्रेस विज्ञप्ति नै निकालेर गौरा पर्व भाद्र ७ गते नै मनाउँदा शास्त्र सम्मत र लोक हितमा हुने बताएको हो । गौरा पर्व भदौँ ७ गते कि २१ गते मनाउने भन्नेमा मतभेद देखिएका बेला अठोला पञ्चाङ्गले पञ्चाङ्ग निर्णायक समितिले विज्ञप्ति जारी गर्दै उत्तम साइत भदाैँ ७ गते नै रहेको र सोहि अनुरुप गाैरा मनाउन अपिल गरेको छ ।
धार्मिक मान्यता अनुसार भदौ ७ मा गौरा मनाउने तिथि मिति भएको परिवेशमा धार्मिक बिखण्डन र बिचलन ल्याउन केहि तत्व लागि परेको र विभिन्न संचार माध्यमले समेत भ्रामक प्रचारप्रसार गरेकोप्रति अठोला पञ्चाङ्गले गम्भिर ध्यानाकर्षण भएको समेत उल्लेख गरेको छ । गौरा पर्व भाद्र शुक्ल अष्टमीमा मनाइने पर्व हो तर यसवर्ष भने अधिकमास परेकाले सो तिथि कन्यार्क अर्थात असोज ८ गते परेको र कन्यार्र्कमा गौरा पर्व मनाउन नमिल्ने समेत अठोला पञ्चाङ्गको निष्कर्ष छ ।
विज्ञप्तिमा भनिएको छ, गौरापर्व भाद्र शुक्ल अष्टमीमा मनाइने पर्व हो, तथापि यस वर्ष अधिकमास परेको कारणले सो तिथि कन्यार्क अर्थात असोज ८ गते परेको छ । तसर्थ कन्यार्कमा गौरापर्व मनाउन मिलेन । त्यसैगरी त्यो भन्दा अघिल्लो भाद्र कृष्ण अष्टमीमा पनि गौरापर्व मनाउने प्रचलन भएपनि ज्योतिर्गणितको अगस्त्योदयको सुत्र अनुसार सुर्यले १ सय ३४ अंश ३ कला ४५ विकला भोग गर्दा भाद्र १५ गते नै अगस्त्योदय हुने र नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाद्र २० गते २८: ३ बजे अगस्ती उदय भई सक्ने हुँदा, ३ दिन पूर्व नै गर्भदोष लाग्ने मान्यता रहेका कारण भाद्र कृष्ण अष्टमीका दिन पनि दुर्वाष्ठमी अर्थात गौरापर्वको व्रत गर्न नमिल्ने बताएको छ ।
धर्म सिन्धुको उल्लेखित वचनवाट भाद्र २० गते अगस्त्योदय हुने कुरा पुष्टि भै रहेको र “निर्णय सिन्धु तथा “ब्रतराज“ को कथनबाट समेत अगस्त्योदय पश्चात दुर्वाष्टमी व्रत गर्न नमिल्ने कुरा प्रष्ट रहेको पनि अठोला पञ्चाङ्गले जनाएको छ । बिगतका वर्षहरुमा पनि यस्तै अधिकमासको अवस्था आउँदा शुद्ध श्रावण शुक्ल पक्षको अष्टमीमा नै गौरापर्व (दुर्वाष्टमी) मनाएको यथेष्ठ ऐतिहासिक प्रमाणहरु रहेको कुरालाई समेत मध्यनजर गरि, यस वर्षको गौरापर्व ,दुर्वाष्टमी ब्रत भाद्र ७ गते श्रावण शुक्ल अष्टमीका दिन गर्न उपयुक्त रहेको र सोहीदिन गौरा पूजनको उत्तम साईत रहेको अठोला पञ्चाङ्गले प्रस्ट्याएको छ ।
उता मालिकार्जुन विकास समितिको सहजिकरणमा मालिकार्जुन धाममा हिजो बसेको ज्योतिषहरूको भेलाले भदौँ १८ गते बिरूडापञ्चमी र २१ गते गौरापर्व मनाउने निष्कर्ष निकालेको हो ।
गौरा पर्व भदौँ ७ गते कि २१ गते मनाउने भन्नेमा मतभेद देखिएको बेला प्रशिद्द ज्योतिषहरूको भेलाले छलफल गर्दै २१ गते मनाउनु नै उपयुक्त हुने निष्कर्ष निकालेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिको निर्णय अनुसार ७ गते गौरा पर्व भएकोले सोही अनुसार मनाउनुपर्ने तर्क राखेपनि महिलाहरूले एकादशी व्रत उपासना नगरिकनै दुर्वाष्टमी (गौरा अष्ठमी) पर्वमा सरिक हुन नमिल्ने भएकोले २१ गते नै गौरापर्व मनाउनु पर्ने र उक्त दिन गौराका लागि उपयुक्त रहेको निष्कर्षमा भेला पुगेको बताइएको छ ।