१८ वर्षे अन्तर्राष्ट्रिय क्रिकेटबाट ज्ञानेन्द्रको सन्यास

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले १८ वर्षे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिनुभएको छ ।

शुक्रवार एक कार्यक्रम आयोजना गर्दै मल्लले क्रिकेट करियरबाटै संन्यास लिएको घोषणा गर्नुभएको हो । उहाँ नेपाली राष्ट्रिय क्रिकेटका टोलीका भरपर्दा ब्याट्सम्यान हुनुहुन्थ्यो । एशिया कपको तयारीका लागि श्रीलंकामा हाइ पर्फमेन्स प्रशिक्षण गरेर नेपाली टोली फर्किएको भोलिपल्ट नै ज्ञानेन्द्रले क्रिकेट करियरबाट सन्यास घोषणा गर्नुभयो । क्रिकेट करियरबाटै सन्यास लिँदा उहाँ एकछिन भावुक बन्नुभयो । कप्तान र उपकप्तानको भुमिकाबाट देशको झण्डा बोक्नु जीवनकै खुशीको क्षणको रूपमा लिएको बताउनु भयो ।

डिभिजन ६ देखि नेपालले ट्वान्टी–२० विश्वकप सम्मको यात्रा तय गर्दा ज्ञानेन्द्र नेपाली टोलीका महत्वपूर्ण सदस्य हुनुहुन्थ्यो । घरेलु क्लव यङ्गालबाट क्रिकेट खेल्न शुरु गर्नुभएका ज्ञानेन्द्रले उमेरसमूहदेखि नै नेपालको प्रतिनिधित्व गर्दै आउनुभएको थियो । सन् २००६ को यु–१९ विश्वकप खेलेका उनले सिनियर टोलीबाट ट्वान्टी–२० विश्वकपसम्म यात्रा तय गर्नुभयो । सन् २००८ को यु–१९ विश्वकपमा नेपाली युवा टोलीको उपकप्तान रहनुभएका ज्ञानेन्द्रले सिनियर टोलीबाट पनि लामो समय सोही जिम्मेवारी सम्हाल्नु भयो ।

पछि उहाँ कप्तान बन्नुभयो । तत्कालीन कप्तान पारस खड्काले राजीनामा दिएसँगै ज्ञानेन्द्रले नेपाली राष्ट्रिय क्रिकेट टोलीको नेतृत्व सम्हाल्नुभएको थियो । यद्यपि, खेलाडीहरूको पारिश्रमिक विषयलाई लिएर नेपाल क्रिकेट संघ(क्यान) सँग विवाद बढ््यो । सोही विवादमा क्यानले उहाँलाई कारबाही गर्दै सो जिम्मेवारीबाट हटायो । त्यसपछि उहाँ सन्दीप लामिछाने र रोहित पौडेलको कप्तानीबाट खेल्दै आउनुभएको थियो । खस्कँदो प्र्रदर्शनसँगै टोलीमा स्थान बनाउन उहाँ असफल हुँदै आउनुभएको थियो । कुनै समय आफूले पनि कोही खेलाडीलाई प्रतिस्थापन गरिरहेको उल्लेख गर्दै अहिले आफूले पनि ठाउँ छोड्नुपर्ने आवश्यकता महशुस गरेको उहाँको भनाइ छ ।

एउटा खेलाडी भएर दिनुपर्ने योगदान दिन नसकेपछि बिदा लिनुपर्छ भन्ने महशुस भएकाले सन्यास लिएको उहाँले बताउनु भयो । सन्यास लिने यो नै सही समय रहेको पनि ज्ञानेन्द्रको बुझाइ छ । जिम्बावेमा भएको विश्वकप छनोटमा पनि उनले दुई खेल मात्र खेल्ने अवसर पउनुभएका थियो ।  विश्वकप छनोटको प्लेअफका खेलमा उनले आयरल्याण्डबिरुद्ध ७ रन तथा युएईबिरुद्ध १३ रन बनाउनुभएको थियो । यो प्रदर्शनबाट उहाँ आफैँ पनि सन्तुष्ट हुनुहुन्न थियो । त्यसैले पनि सन्यासबारे आफूले धेरै अगाडिदेखि नै सोचेको उहाँले बताउनु भयो । तर उचित समयको पखाईमा रहेको र त्यो समय अहिले रहेको उहाँको बुझाइ छ ।

नेपालले एकदिवसीय मान्यता पाएपछि ज्ञानेन्द्रले ३५ खेलबाट ८५६ रन बनाउनुभएको छ । ४५ वटा ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा उनले ८८३ रन जोड्नुभएको छ । ७५ वटा लिस्ट ‘ए’ खेलमा उहाँले १ हजार ८०२ रन जोड्नुभएको छ । सन् २०१८ मा ज्ञानेन्द्रले एकदिवसीय अन्तर्राष्ट्रियमा नेदरल्याण्ड्सबिरुद्धको खेलबाट डेब्यु गर्नुभएको थियो । सन् २०१९ मा मलेसियाबिरुद्धको खेलमा नेपालका नियमित कप्तान पारस खड्काले चोटका कारण खेल गुमाउँदा मल्लले नेपाली टोलीको कप्तानको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
क्रिकेटका पछिल्लो पुस्तासँग पनि उतिकै मिजासिला ज्ञानेन्द्रले तीन वर्षभन्दा बढी समय युवा कप्तानको नेतृत्वमा रहेर खेल्नुभयो । यद्यपि, ढल्कँदो उमेर र खस्कँदो प्रदर्शनसँगै उनले १८ वर्षे करियरको अन्त्य पनि गर्नुभयो । आफू क्रिकेटमै हुर्किएकाले क्रिकेटबाट भने टाढा नजाने ज्ञानेन्द्रले बताउनु भयो ।

सन्यास घोषणा गर्ने क्रममा उहाँले नेपाली खेलाडीमा क्षमता रहेकाले नेपालको भविष्य पनि राम्रो रहेको उल्लेख गर्नुभयो । त्यसको लागि राम्रो एक्सपोजर आवश्यक रहेको र जुन पछिल्ला समय खेलाडीले पाइरहेको उहाँको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्