राज्यसत्ता नै लुटपाट र भ्रष्टाचारमा लागेको छः सभापति केसी

File Photo

काठमाडौँ –  राज्य व्यवस्था तथा सुशासन समितिका सभापति चित्रबहादुर केसीले राज्यसत्ता नै लुटपाटमा लागेको बताउनुभएको छ ।
शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति केसीले राज्यसत्ता नै लुटपाट र भ्रष्टाचारमा लागेको बताउनुभएको हो । उहाँले कुनै पार्टी र व्यक्ति विशेषमात्र नभई सम्पूर्ण राज्यसत्ता नै लुटपाटमा सामेल भएको बताउनु भयो । उहाँले राज्य व्यवस्था तथा सुशासन समितिमा सभापतिको निर्वाचन छिटोभन्दा छिटो हुनुपर्ने पक्षमा आफू रहेको बताउनु भयो । उहाँले समितिको बैठक बस्न नसक्नुमा आफ्नो मात्रै दोष नभएको भन्दै उहाँले यसको दोष सबैले लिनुपर्ने बताउनु भयो । बैठक बस्नका लागि आफूले समिति सदस्यहरुसँग छलफल गर्दा एजेण्डा छैन भनेर पन्छाइएका कारण बैठक बस्न नसकेको उहाँले जानकारी गराउनु भयो ।

उहाँले भन्नुभयो – ‘सभापतिको चुनाव हुनुपर्छ भन्ने मेरो मान्यता हो । यहाँ भनाई के आयो भने, हामी सबैको बराबर जिम्मेवारी हो नि त त्यो । म यहाँ उमेरले जेठो भएकोले अहिले एकछिन सभापति भएको न हो । मैले बैठक बोलाएन भनेर त्यसरी मेरो थाप्लोमा हाल्नु त भएन नि । सल्लाहमा मैले भनिरहेको छु, किन बैठक बस्दैन ? साथीहरुले भन्नुहुन्छ, अहिले भर्खरै एजेण्डा छैन । अहिलेको नेपालको स्थिति धेरै गम्भिर छ । यो राज्यसत्ता नै लुटपाटमा, भ्रष्टाचारमा लागिसकेपछि गर्नुहुन्छ के ? कसलाई थाहा छैन ? यहाँ कुनचाहीँ पार्टी हो ? कुनचाहीँ व्यक्ति हो ? भन्नुभन्दा पनि राज्यसत्ता पूरै लुटपाटमा सामेल भइसकेपछि त गाह्रो छ हामीलाई । तैपनि हामीले हरेश खानेकुरा भएन । यो लोकतन्त्र छ र हामीले कमसेकम जनताको बीचमा समसामयिक विषयमा कुरा गरिराखेका छौँ । यो बैठकलाई निरन्तरता दिनुपर्छ । म केहीगरि अनुपस्थित भएपनि खुर्सानीबिना भान्सा अड्कन्न भन्छन् नि । त्यसकारण माननीयज्युहरुले पहल गरेर यो बैठकलाई चलाउनुपर्छ ।’

उहाँले आजको बैठकमा गृहमन्त्रीलाई बोलाइएको भएपनि नेकपा(माओवादी केन्द्र)को केन्द्रिय कमिटी बैठकका कारण गृहमन्त्री आउन नसक्ने जानकारी आफूलाई गराउनुभएको बताउनु भयो । उहाँले मुलुकको तस्बिर डरलाग्दो देखिएको भन्दै सबैले जिम्मेवार भएर सडक, सदन र समितिमा गम्भिर रुपले अगाडी जानुपर्ने बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्