काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका आठ वटा अस्पतालहरुको अनुगमन गरेको छ ।
स्वास्थ्य मन्त्रालयले बिहीवार काठमाडौंका चार, ललितपुर र भक्तपुरका २÷२ वटा सामुदायिक र निजी अस्पतालको अनुगमन गरेको हो । मन्त्रालयका अनुसार काठमाडौंको कान्ती बाल अस्पताल, मनमोहन मेमोरीयल अस्पताल, नेपाल मेडिकल कलेज र शंकरापुर अस्पताल, ललितपुर क्षेत्रको मेडिसिटी अस्पताल र अल्का अस्पताल, भक्तपुरको भक्तपुर अस्पताल र नागरिक सामुदायिक अस्पतालको अनुगमन गरिएको हो । नेपाल मेडिकल कलेज र शंकरापुर अस्पतालको अनुगमनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा.टंक बाराकोटीले अस्पतालहरुमा नागरिक वडापत्र लागू हुनुपर्ने बताउनु भयो । उहाँले अस्पतालले बिरामीहरुको निःशुल्क उपचार दिनुपर्ने पनि बताउनु भयो ।
डा.बाराकोटीले भन्नुभयो, नेपाल मेडिकल कलेजको राम्रो पक्ष भनेको सरसफाई राम्रो छ । पूर्वाधार ठिक छ । नागरिक बडापत्रका कुरा, निःशुल्क दिने उपचारका कुरामा सुधार गर्नुपर्ने देखिन्छ । शंकरापुर अस्पतालको भवन स्ट्याण्डर्ड छैन । गरिब असहायलाई बेड पर्याप्त नछुट्याइएको पाइयो । ल्यावमा सुधार गर्नुपर्ने देखियो । ’
अनुगमनमा स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव, सहसचिव, उपसचिव लगायतको सहभागिता रहेको थियो । यसअघि स्वास्थ्य मन्त्रालयले काठमाडौंका फार्मेसीहरुको अनुगमन गरेको थियो ।