काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइएमई लाइफ इन्स्योरेन्स (ILI) र नेपाल रिपब्लिक मिडिया लिमिटेडको शेयर सूचीकृत भएको छ । बिहीबार दुबै कम्पनीले सर्वसाधारणकाे लागि निष्काशन गरेकाे र संस्थापकहरूले लगानी गरेको शेयर नेप्सेमा सूचीकृत भएको हो ।
आइएमई लाइफ इन्स्योरेन्सको ४ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । सर्वसाधारणलाई निष्काशनमा ल्याएको १ करोड २० लाख कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको २ करोड ७० लाख कित्ता सहित सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको शेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम १७६ रुपैयाँ ५३ पैसा देखि ५२९ रुपैयाँ ५९ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोहि आधारमा आइतबार देखि कम्पनीको शेयर कारोबारमा आउनेछ । कम्पनीको शेयरलाई नेप्सेले आइएलआई कारोबार संकेत प्रदान गरेको छ ।
यस्तै नेपाल रिपब्लिक मिडिया लिमिटेडको पनि ९६ लाख ७५ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । सर्वसाधारण शेयरधनीहरुलाई निष्काशन गरेको ४३ लाख ५३ हजार कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ५३ लाख २२ हजार कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको शेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ८४ रुपैयाँ ४७ पैसा देखि २५३ रुपैयाँ ४१ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोहि आधारमा आइतबारदेखि कम्पनीको शेयर कारोबारमा आउनेछ । कम्पनीको शेयरलाई नेप्सेले एनआरएम कारोबार संकेत प्रदान गरेको छ ।