म दार्चुलेली र हाम्राे क्षेत्रकाे प्रमुख चाडपर्व, परम्परा र रीतिरिवाजहरू मध्ये जाैलजिबी मेला पनि प्रमुख मनाेरञ्जनात्मक चाडकाे रुपमा रहेकाे छ । आज २०८० श्रावण – १७ गतेदेखि झण्डै साढेतीन महिना पछि अर्थात मंसिर महिनाकाे १ गतेदेखि धूमधामसंग लाग्ने जाैलजिबी मेलाकाे झझल्काे आइरहेको छ । हुन पनि किन झझल्काे नआओस र ! सानाेमा जाैलजिबीबाट नै नुनतेल, लत्ताकपडा, भाँडाकुँडा आदि सरसामान किनमेल गरेकाे, घिउ लगायत गुड, दलहनकाे बिक्रीवितरण गरेकाे तथा झन २ वर्ष आई. एस्सी. जाैलजिबीबाट नै गरेकाेले पनि कहिलेकाहीं आफू बसेकाे, अध्ययन गरेकाे, आवतजावत गरेकाे ठाउँकाे झझल्को त कसलाई पाे नआउला र ! अझ भन्नू पर्दा दिनभरी जाैलजिबी मेला हेरेर साँझ यसै मेलाबाट वि. सं. २०४६ सालमा जम्मु कास्मिरकाे यात्राकाे थालनी गरेकाे ।
दार्चुला जिल्लाकाे जाैलजिबी भन्ने ठाउँमा महाकाली नदीले भारत र नेपाललाई सिमाङ्कन गरिदिएकाे छ । जाैलजिबी वारि र पारी मंसिर – १ गते देखि १०/१२ गते सम्म प्रत्येक वर्ष ठुलाे मेला लाग्ने गर्दछ । उक्त मेला भर्न हाम्राे नेपालकाे तर्फबाट जुम्लाबाट सयाैंकाे सङ्ख्यामा घाेडाहरु जान्छन । भारतमा टाढा टाढाबाट आएका भारतीयहरु घाेडाकाे माेल माेलाई गरी घाेडाहरुकाे किनबेच गरिन्छ ।
जाैलजिबी मेला दार्चुलाबासीका लागि ठुलाे पर्वकाे रुपमा लिइन्छ । भारतमा पनि मुम्बई, दिल्ली, मथुरा, हल्द्वानी, बरेली, टनकपुर, चम्पावत, लाेहाघाट, पिथाैरागढ, मुन्स्यारी, थल, गाेरीछाल, धारचूला लगायतका विभिन्न ठाउँबाट प्रत्येक वर्ष ब्यापारीहरु मेला भर्न आउने गर्दछन् । जाैलजिबी मेलाकाे बारेमा चित्रण गर्दैगर्दा उक्त ठाउँकाे परिदृश्यकाे बारेमा वर्णन गर्नु सान्दर्भिक हाेला जस्ताे लाग्छ । जाैलजिबी दार्चुला जिल्लाकाे मालिकार्जुन गाउँपालिकाअन्तर्गत वडा नम्बर -७ मा महाकाली नदीकाे किनारमा अवस्थित रमणीय ठाउँ हाे ।
अहिले त सडक बाटाे घाटाे यातायाकाे सुबिधा आदिले गर्दा व्यापार व्यावसायले गति लिन नसके पनि पहिलेकाे भने व्यपारिक नाका नै हाे । महाकाली नदीकाे पारी भारतमा पनि जाैलजिबी रहेकाे छ । उक्त ठाउँ महाकाली नदी र गाेरी गंगा नदीकाे संगम दाेभानमा अवस्थित छ । महाकाली नदीमा भारत नेपाल जाेड्ने झाेलुङ्गे पुल रहेकाे छ । मेलाकाे बारेमा वर्णन गर्दैगर्दा यसकाे सुरुवातीलाई पनि उल्लेख गर्नु सान्दर्भिक ठानेकाे छु ।
२० अाैं शताब्दिकाे सुरुवात सन १९१४ मा भारत अस्काेटका पाल रजा गजेन्द्र बहादुर पालले जाैलजिबी मेलाकाे सुरुवात गरेका हुन् । त्यति बेला जाैलजिबी अति नै दुर्गम क्षेत्र थियाे । यहाँबाट आवश्यक सामान किनमेल गर्न मानिसहरू पैदल अल्माेडा वा टनकपुर जाने गर्दथे । मानिसहरूकाे दु:ख कष्टलाई ध्यानमा राखेर बर्षभरीकाेलागि चाहिने सबै मालसामानहरू एकमुष्ट मेलामा नै उपलब्ध गराउने अभिप्रायले तल्लाे मल्लाे अस्काेटकाे केन्द्रबिन्दु महाकाली नदी र गाेरी नदीकाे संगम स्थल दाेभानमा अवस्थित अति रमणीय स्थान जाैलजिबी (भारत) मा अस्काेटी राजाले याे मेलाकाे सुरुवात गरेका हुन् ।
मेलाकाे लागि चाहिने आवश्यक सरसामानकाे लागि आगरा, मथुरा, बरेली, दिल्ली, रामपुर मुरादाबाद, मेरठ, काशीपुर, रामनगर , अल्मोड़ा, हल्द्वानी र टनकपुरका व्यापारीहरू यस मेलामा आउने गर्दछन् । उक्त मेलामा मित्र राष्ट्र नेपाल र छिमेकी देश तिब्बतका व्यापारीहरूलाई पनि बाेलाएकादथिए । मेलामा नेपाल र तिब्बतीहरूकाे उपस्थितीले गर्दा अन्तर्राष्ट्रिय स्तरकाे मेला हुन पुग्याे । याे मेला सुरुवातमा एक महिनासम्म लाग्ने गर्दथ्याे । सन १९६२ मा भारत र चीन बीच युद्धभएपछि मेलामा तिब्बतीहरूकाे उपस्थिती बन्द भयाे । तीस वर्षपछि भारत-चीन व्यापार प्रारम्भ भएपछि फेरी भारतीय व्यापारी तिब्बती सामानहरूकाे पसल लगाउन थालेका हुन् ।
अत: जाैलजिबी मेला दार्चुलाबासीहरूकाे लागि एक महत्त्वपूर्ण चाड मेलाकाे रुपमा रहेकाे छ । मेलामा चर्खा, सर्कस, कलाकारहरुकाे सानदार प्रस्तुती, रामलिला, भाँडाकुँडा , कपडा, मिठाईका परिकारहरू आदि सबै सुपथ र सुलभ मूल्यमा उपलब्ध हुन्छन् । दार्चुला जिल्लाका नाै वटै स्थानीय तहबाट हजाराैंकाे संख्यामा मेला भर्न जाने गर्दछन् । घरमा उत्पादित घिउ, मह, सुन्तला, भटमास तथा अन्य दलहन, गुड लगायतका खाद्यवस्तुहरू जाैलजिबी मेलामा बिक्रीवितरण पनि गरिन्छन् । नेपालकाे जुम्लाबाट आयातित घाेडाहरू पनि मेलाकाे विशेष आकर्षणकाे रुपमा रहेका हुन्छन् । समग्रमा महाकाली नदीले सिमाङ्कन गरेकाे नेपाल र भारतकाे सिमाना जाैलजिबीमा प्रत्येक वर्ष मंसिर -१ गतेबाट १०/१२ गते सम्म ठुलाे मेला लाग्ने गर्दछ ।
जाैलजिबी मेलाकाे बखान सुन्दा पाठकहरूलाई एकपटक अवश्य पनि मेला हेर्न जाउँ जाउँ जस्ताे मनमा पक्कै पनि लाग्छ हाेला । केही वर्षयता लाेकतन्त्रकाे स्थापना पश्चात वारि नेपालमा पनि तडक भडक तथा धूमधामपूर्वक मेलाकाे आयाेजना हुने गरेकाे छ । नेपालमा मांस, मदिरा, चाइनिज सामानहरू, डाेकाे, नाङ्लाे, सुन्तला लगायतका खाद्य तथा फलफूलहरू सुपथ मूल्यमा उपलब्ध हुन्छन् । अन्त्यमा याे लेख पढेर आवश्यक सुझावकाे अपेक्षा सहित कलमलाई बिट मार्छु । धन्वाद !!!
हुनैनाथ स्वामीले हामी सबैकाे कल्याण गरून् ।
जय हुनैनाथ स्वामी !!!
बाँकी संस्मरणमा … क्रमशः
मान सिंह धामी (भाैनबाटी)
उप-प्राध्यापक
कैलाली बहुमुखी क्याम्पस, धनगढी
स्थायी ठेगाना :-
मालिकार्जुन गाउँपालिका हुनैनाथ -४
गाेठ्युडी (भाैनबाटा)
दार्चुला
स्राेत सामग्री :
धामी, राजेन्द्र र दामोदर (२०७८), आराध्यदेव हुनैनाथको महिमा तथा औल्लेकी धामीहरुको वंशावली । गोकुलेश्वर दार्चुला ।
पन्त, दयाकृष्ण (२०६७), दार्चुलाकाे इतिहास, महेन्द्रनगर ।
जाेशी, गणेशराज (२०७६), मधुवन, शभकामना प्रकाशन । प्रा.ली. : काठमाण्डाै
पाण्डेय, बद्रीदत्त (२०२२), कुमाऊँ का इतिहास, भारत