काठमाडौं – सर्वोच्च अदालतको संयुक्त इजलासले कोशी प्रदेश सरकार गठनको विवादबारे आज सुनुवाइ सकेको छ तर सो बिषयमाथि भोलि बिहीबार पनि सुनुवाइ हुने भएको छ ।
दुवै पक्षको सुनुवाइ सकेपछि न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले मुद्दा बिहीबारका लागि हेर्दाहेर्दैमा राखेको छ । सम्भवत: लिखित जवाफ आइसकेको र मुद्दाको अंग पनि पुगेकाले भोलि नै अन्तिम आदेश नै गर्ने देखिन्छ ।
कोशी प्रदेशमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सभामुख बाबुराम गौतमको समेत समर्थन पेश गरेर मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । सोही दाबीका आधारमा प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।
तर नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सभामुख निष्पक्ष भूमिकामा रहनुपर्ने भएकाले मुख्यमन्त्री नियुक्तिका लागि समर्थन गर्न नमिल्ने भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।