काठमाडौं – आज बुधबार बसेको प्रतिनिधिसभामा बैठकमा सुन प्रकरणले चर्चा पाएको छ । बैठकमा बोल्ने अधिकांश सांसदले सुन प्रकरणमा संलग्न दोषीलाई कारवाही गर्नुपर्ने बताएका छन् । बैठकमा प्रतिपक्षी दलको आवाज सँगै सत्तारुढ दलका सांसदहरु समेत सरकार विरुद्ध आवाज उठाएका छन् । यस्तै नेपाली कांग्रेसकै सांसदले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन् । सांसद सुनिल शर्माले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गरेका हुन् ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट एक क्वीन्टल सुन बरामद भएको घटनामा भरियामात्र पक्राउ गरेको र मुख्य दोषी पक्राउ गर्न न सकेको भन्दै उनले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका हुन् ।
यसैगरी राप्रपा सांसद ज्ञानबहादुर शाहीले पनि वास्तविक दोषी पत्ता लगाउन नसके संसद र सडक दुबैबाट आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनले भने “सरकार जरैसम्म पुगोस र वास्तविक दोषी पत्ता लगाईयोस् ।”
यस्तै एमाले सांसद पदम गिरीले समेत सरकारको ध्यानाकर्षण गराएका छन् । सुरुमा बैठक अवरुद्ध पार्न खोजेको एमालेलाई सभामुखले समय दिएपछि एमालेका तर्फबाट पदम गिरीले धारणा राखेका थिए । सुन प्रकरणमा दोषीलाई कारवाही गर्नुपर्ने र गृहमन्त्रीले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने बताए ।