देउवालाई लिखित धारणा थमाउँदै गगनले भने- खाणलाई निलम्बन गरौं

File Photo

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाई १३ बुँदे लिखित धारणा बुझाएका छन्। सोमबारको केन्द्रीय समितिमा थापाले सभापति देउवालाई लिखित मत भन्दै १३ बुँदे धारणा बुझाएका थिए। महामन्त्री थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेतालाई पार्टीबाट निलम्बन गर्न माग गरेका छन्। केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री खाण संगठित अपराध अभियोगमा केन्द्रीय कारागार सुन्धारामा थुनामा छन्।

खाणलाई निलम्बन गर्ने कि नगर्नेमा केन्द्रीय समिति सदस्यहरूको मत बाझिएको छ। सभापति देउवा पक्षका नेताहरू अदालतको निर्णय पर्खेर मात्रै खाणबारे निचोड निकाल्नुपर्नेमा छन्। तर महामन्त्री थापाले खाणको नाम नलिई लिखित धारणामा भनेका छन्, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका तथा अनुसन्धान दायरामा आएका कुनै पनि तहका नेता, कार्यकर्ता वा सदस्यलाई पार्टीबाट निलम्बन गरौं।’

उनले कुनै अभियोग लागेमा जसरी संसदबाट निलम्बन हुन्छ त्यसरी नै पार्टीबाट पनि निलम्बन गरिनुपर्ने उल्लेख गरेका हुन्। ‘जसरी संसदबाट निलम्बन हुन्छ त्यसरी पार्टीबाट पनि हुन्छ, यो नै विधिको शासन र विधिशास्त्रको मान्यता हो,’ थापाले भनेका छन्।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणसहित अख्तियारको दुरूपयोग, भ्रष्टाचार, आर्थिक अनियमितता, सार्वजनिक पदको दुरुपयोगजस्ता विगतमा भएका मुद्दाहरूको पनि निष्पक्ष अनुसन्धान र छानबिन गरी दोषीलाई कारवाही गर्न र सुशासन कायम गर्न दृढतापूर्वक कांग्रेस उभिनुपर्ने बताएका छन्। ‘भ्रष्टाचारको महत्वपूर्ण कारण र आधार नीतिगत भ्रष्टाचार बनेको छ। नीतिगत विषयमा ठूला र शक्तिशाली भ्रष्टाचारका कार्य भइरहेका प्रसंग उठेका छन्। त्यसैले विगतमा नीतिगत निर्णयका नाममा तामेलीमा रहेका वा अनुसन्धानको दायरामा नआएका भ्रष्टाचारका विषयसमेत अनुसन्धानको दायरामा ल्याउनु पर्छ,’ उनले भने, ‘भ्रष्टाचारसम्बन्धी कसुरमा हदम्याद हटाउनु पर्छ। यसका निम्ति संसदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भ्रष्टाचार सम्बन्धी दुई वटा ऐन संशोधन विधेयक विचाराधीन छन्।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्