काठमाडौं– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणको छानविनलाई निष्कर्षमा पुर्याउन निर्देशन दिनुभएको छ ।
त्रिभुवन बिमानस्थल भन्सार कार्यालयको अनुगमन गर्दै श्रेष्ठले छानबिन र अनुसन्धानको प्रक्रियालाई जरैसम्म पुग्नेगरी निष्कर्षमा पुर्याउन छानविन समितिलाई निर्देशन दिनुभएको हो ।
भन्सार जाँचका सबै प्रक्रिया पुरा गरेर करिव एक क्वीन्टल सुन भन्सार निस्कनु सामान्य घटना नभएको भन्दै उहाँले जस्तोसुकै वा जोसुकै भएपनि जरैसम्म पुग्ने गरी कारवाहीको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको समेत निर्देशन प्राप्त भएको जिकिर गर्नुभयो ।
उहाँले आवश्यकता परे नेपाल प्रहरीले राजस्व अनुसन्धान विभागलाई सहयोग गर्ने र अहिले राजस्वको छानविन समितिलाई नै सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । श्रेष्ठले बिमानस्थलको आगमनका प्रहरीको उपस्थिती नरहने भएकाले अब भने प्रहरीको उपस्थिती गराउने गरी छलफल अघि बढाउने जानकारी दिनुभयो । उहाले भ्रष्टाचार विरोधी अभियान र सुशासनको अभियानलाई दिगभ्रमित गर्ने कामबाट बिचलित नहुने स्पष्ट पार्नुभयो ।
उहाँले भ्रष्टाचार अपराधका कुरामा कुनै दल नहेर्ने जिकिर गर्नुभयो । करिब एक सय किलो सुन बुधवार साँझ विमानस्थल भन्सार कार्यालय बाहिरबाट राजस्व अनुसन्धान विभागले बरामद गरेपछि गृहमन्त्री श्रेष्ठ र प्रहरी महानिरीक्षक वसन्त कुँवरले भन्सार कार्यालयको अनुगमन गर्नुभएको हो । नेपाल टेलिभिजन